Loading...
काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन ।

– राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष
इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सङ्घीय लिम्बुवान पार्टी सङ्घीय समाजवादी फोरम, नेपालमा एकीकृत भइ सकेकाले स्थानीय निर्वाचनपछि पहिचान र समृद्धिको आन्दोलन अझ उच्चाइमा पुग्ने बताए ।
श्रेष्ठले सङ्घीयताका लागि धेरैले कुरा उठाए पनि नेपालमा आफ्नो पार्टीको नेतृत्वमा भएकोे मधेस जन विद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका उत्पीडितहरूको सङ्घर्षले नेपालमा सङ्घीयता स्थापित भएकाले ससफो नेपाल नै सङ्घीयताको जननी भएको बताए । पूर्वमन्त्री समेत रहेका श्रेष्ठले अहिले पहिचान सहितको सङ्घीयता भएको इथियोपिया, भारत लगायतका देशहरूमा उच्च वृद्धिदर हाँसील हुनुले नेपालमा पहिचानलाई “गुन्द्रुकको झोल”सँग दाँज्नेहरूलाई मुखभरी जवाफ दिएको बताए ।
श्रेष्ठले आर्थिक क्रान्ति ल्याउनका लागि अपूर्ण क्रान्तिलाई पूर्णतामा लानु पर्ने बताउँदै स्थानीय निर्वाचनलाई पनि आन्दोलनको रूपमा उपयोग गरेको बताए । उनको शब्दमा “अहिले स्थापित सङ्घीयता आन्दोलनको उपज भए पनि पूर्ण छैन, त्यसका लागि पहिचानयुक्त प्रदेशहरू स्थापित गर्नु पर्दछ ।” उनले नेपाल जस्तो देशमा सङ्घवाद र समाजवाद दुई वाद वा सिद्धान्तले मात्र उत्पीडित राष्ट्रियताहरू र श्रमजीवी वर्गलाई शोषणबाट मुक्त गर्ने बताउँदै एमालेका वहुदलीय जनवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद दुबैले ए्कात्मक राज्य प्रणालीको पक्षपोषण गरेको हुँदा त्यसले जातीय उत्पीडनको अन्त्य गर्न र समतामुलक समृद्धि ल्याउन नसक्ने बताए ।
उनले स्थानीय तहको निर्वाचनको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक राष्टिय मञ्चले दोहरो चरित्र प्रदर्शन गरेको भन्दै राष्ट्रिय जनता पार्टीको पछि लागेर गल्ती गरेको बताए । उनले पूर्व प्रधानमन्त्री, पूर्व सभामुख जस्ता शिर्ष भनिने इलामका नेताहरूले देशको विकासमा पासमार्क पनि हासील गर्न नसकेको कुरा माइ नगरपालिकाको बाटोले नै देखाएको भन्दै अब दोहर्याएर पुनः जाँच गर्न आवश्यक छैन भने । उनले स्थानीय तह विकाश निर्माणको एकाई भएकाले आफ्नो पार्टीले विजय हाँसील गरे माइ नगरपालिकालाई नयाँ सोचका साथ नमुना नगरपालिकाको रूपमा विकास गर्ने बताए ।
उक्त जनसभा हुनुभन्दा अगाडी भब्य जुलुश प्रदर्शन भएको  थियो । सभामा पार्टीका पार्टीका राजनीतिक समिति सदस्य पृथ्वी नारायण कार्की, लिम्बुवान प्रदेश सचिव धिमाल, स.वि.यु.को उप महासचिव संजय राई, मेयर उम्मेदवार टुपेन्द्र एक्टेन, उपमेयरका उम्मेदवार अम्बिका चौहान लगायत नेताहरूले मसाल चिन्हमा मतदान गरी ससफो नेपाललाई विजय गराउन आह्वान गरे । कार्यक्रममा साँस्कृतिक झाँकी तथा प्यारोडीहरू पनि प्रदर्शन भएको थियो ।

चुनावी प्रचार प्रसारको क्रममा मोरङको बेलबारी नगरपालिका अन्तर्गत वडा नं ६, ७, ९ र ११ (कसेनी बजार, बाहुनी, डाङगिहाट बजार र लक्ष्मी मार्ग चोक) मा पनि चुनाबी जनसभाहरु सम्पन्न भयो । सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालको संंयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संयुक्त रूपमा सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रमहरूमा जनताको बिराट उपस्थितिमा मेयर पदका उम्मेदवार प्रताप थापा र उपमेयरका उम्मेदवार शान्ता मोक्तान तामाङले जनता समक्ष आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *