Loading...
को हुन नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरका उम्मेद्वारमा अगाडि सारेको भिम पराजुली ?

विराटनगर (मोरङ्ग) ११ आषाढ । विराटनगरलाई भौतिक पूर्वाधारले सम्पन्न, आधुनिक र विकसित नगरको रुपमा परिणत गर्दै नगरवासीलाई छिटोछरितो, झन्झटमुक्त, सुशासनयुक्त भरपर्दो सेवा सुविधा दिन प्रतिबद्ध नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरका उम्मेद्वारमा अगाडि सारेको छ, युवा नेता भिम पराजुलीलाई ।
नेपाली कांग्रेस विराटनगर नगर समितिको दुईपटकसम्म सभापति भैसकेका पराजुली नेपाली कांग्रेसमा मात्र होइन्, नगरवासीहरुबीच पनि चीरपरिचित र लोकप्रिय व्यक्ति हुनुहुन्छ ।
नगर सभापति रहदा उहाँ राजनीतिक संयन्त्रमा हुनुहुन्थ्यो । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहिन भएपछि यही संयन्त्रमार्फत नगरका योजनाहरुहरुको चयन र कार्यान्वयन गरिन्थ्यो । पराजुलीले यो अवसरलाई खेर जान दिनुभएन । स्थानीय जनताका आवश्यकताको पहिचान गरि नगर र जिल्ला परिषद्मा पु¥याएर पारित गर्ने र केन्द्रमा रहेका प्रभावशाली नेताहरुको सहयोग लिई ती आयोजनाहरुमा बजेट पार्ने काममा उहाँको महत्वपूर्ण भूमिका रह्यो ।
नगर सभापति रहदा नगरपालिका र जिल्ला विकास समिति लगायत जिल्लाका सरकारी कार्यालयमा काम परेका नगरवासी र अन्य नागरिकहरुको काम पनि सक्रियतापूर्वक उहाँले गरिदिनुभयो । जिल्ला प्रसाशनदेखि, महानगरपालिका, जिल्ला जनस्वास्थ्य, खानेपानी, सडक, प्रहरी कार्यालयमा स्वयं उपस्थित भएर आम नागरिकको काम गर्दा उहाँमा गज्जबको सन्तोष देखिन्थ्यो । जनताको कामलाई उहाँले कहिल्यै पनि झन्झटको रुपमा लिनुभएन ।
एशियाली विकास बैंकको सहयोगमा बनेका र नेपाल सरकारकै लगानीमा बनेका ठूला साना सबैखाले आयोजनाहरुको अवस्था र गुणस्तरका बारेमा स्थलगत अवलोकन,निरीक्षण र निगरानी गर्दै आउनुभएका पराजुलीले विकासप्रेमी नेताको छवि समेत बनाई सक्नुभएको छ ।
राजनीतिक संलग्नता
भिम पराजुलीको राजनीतिक जीवन निकै रोचक छ । २०४६ सालको जनआन्दोलनका समयमा उहाँ जम्मा १५ बर्षको हुुनुहुन्थ्यो । पोखरियामा मसाल जुलुुस निस्केको रहेछ । खाली खुट्टा जुलुसको पछाडि लाग्नुभएका उहाँलाई पनि प्रहरीले पक्रेर हिराशतमा राखेछ । त्यस घट्नाले उहाँमा राजनीतिक चेतनाको बीजारोपण ग¥यो । माध्यमिक तहको अध्ययनकै क्रममा नेपाल विद्यार्र्थी संघको स्कूल एकाई समितिको अध्यक्ष बन्न पुग्नुभयो ।
निम्न माध्यमिक तहको शिक्षा पोखरीया उच्च माविमा लिनुभएका भिमले माध्यमिक शिक्षा भने जनता उच्च माविमा लिनुभएको हो । माध्यमिक तहको पढाइ सिलसिलामा उहाँमा कांग्रेसको राजनीतिक प्रभाव देखिएको हो ।
एसएलसी पास गरेपछि उहाँ महेन्द्र मोरङ क्याम्पसमा भर्ना हुुनुभयो । विद्यालयमा नै राजनीतिमा लाग्नुभएका भिम नेपाल विद्यार्थी संघ क्याम्पस एकाइको सदस्य हुनुभयो । मरिमेटर काम गर्ने स्वभाव भएका भिम पछि एकाई सचिव र सभापति पनि हुनुभयो । २०५५ सालमा स्ववियु सदस्य, ०५७ मा कोषाध्यक्ष २०५९ मा सचिव निर्वािचत हुनुभएका भिम २०६१ को स्ववियू चुनावमा सभापतिका आकांक्षी हुनुहुन्थ्यो तर केन्द्रले उहाँभन्दा कमजोर र विद्यार्थीमाझ कम लोकप्रिय व्यक्तिलाई टिकट दियो । पछि उहाँले आफ्नो अलग्गै समूह गठन गरि चुनाव लड्नुभयो र आफूसहित सिंगो प्यानल नै विजयी बनाउनुभयो, स्वतन्त्र विद्यार्थी यूनियन अन्य दलको पोल्टामा जानबाट रोक्नुभयो । यसले पराजुलीको राजनीतिक प्रभाव बढायो र कार्यशैलीमा निखार ल्यायो । तात्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बधाई दिंदै त्यतिबेला चलिरहेको प्रतिगमन विरोधी आन्दोलनलाई सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्र्देशन दिनुभएको थियो ।
विक्रम सम्बत २०६२÷६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल पर्नुभएको थियो । आन्दोलन क्रममा कैयौपटक उहाँको टाउको, खुट्टा र हातमा चोटपटक लागेर उहाँ घाइते हुनुभएको थियो । राजधानी केन्द्रित आन्दोलनमा उहाँ पटकपटक धरपकडमा पर्नुभएको थियो ।
सामाजिक क्षेत्रमा भीम
पराजुली राजनीतिक रुपमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेपाल क्रिकेट संघ क्षेत्र नम्बर १ को अध्यक्ष रहनुभएका उहाँ नेपाल विद्यालय फुटबल संघको राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । अन्तरधार्मिक परिषद्, त्रिवेणी वाचनालय, आदर्श विद्यालय , पोखरिया ऋण सहकारी लगायत दुइ दर्जनभन्दा बढी संस्थामा अध्यक्षको जिम्मेवारीमा रहनुभएका भिम पराजुली सामाजिक काममा सहभागी हुन पाउँदा खुसी हुनुहुन्छ ।
जनचेतना अभिवृद्धि, स्वास्थ्य शिविर संचालन, त्रिवेणी वाचनालयको १० कोठे भवन निर्माण, बिराटनगर १ मा बालउद्यान स्थापना, रक्तदान, नगर सरसफाई, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापनको आरम्भ घरजग्गा कर न्यूनिकरण, नौ महिनादेखि दर्ता नभएका इ–रिक्सका दर्ता गराइ स्वदेशमै रोजगारको अवसर सिर्जना गराउने, विभिन्न विद्यालयमा छात्रवृतिको स्थापना, बाटोघाटो पुलपुलेसा निर्माण लगायत जनताका सरोकारका काममा उहाँले अग्रसरता र नेतृत्व लिदै आउनुभएको छ ।
२०७२ सालको विनासकारी भुकम्प गएपछि उहाँको नेतृत्वमा रहेको नेपाली कांग्रेस विराटनगर नगर समितिले धादिङ, सिन्धुपाल्चोक, काठमाडौं लगायतका जिल्लामा ३० लाख बराबरको औषधी र राहत सामग्री वितरण गरेको थियो । पराजुलीले आफ्नै नेतृत्वमा धादिङ पुगेर १ सय ५१ जनाको घरटहरा निर्माण, ७० वटा जोखिमपूर्ण घर हटाउने काम सम्पन्न गर्नुभएको थियो ।
ज्नताको दुःख पीडालाई आफ्नै दुःख सम्झने भिम दुःखमा रहेका परिवारमा स्वयं पुगेर सहानुभूति प्रकट गर्नुहुन्छ । दिनरात नभनी जनताको काममा अहोरात्र खटिएकाले उहाँप्रति मतदाताको आशा र भरोसा दुवै देखिन्छ ।
बिराटनगर उपमहानगरको राजनीतिक संयन्त्रमा रहँदा उहाँले संयन्त्रमा बस्नेले कुनै पनि सेवा, सुविधा, भक्ता नलिने प्रस्ताव गर्नुभयो र पारित पनि भयो । उहाँले कुनै पनि संघसंस्थाको कार्यक्रममा सहभागी हुँदा भत्ता र सुविधा नलिने अठोट नै गर्नुभएको छ । उहाँ सञ्चार क्षेत्रसंग पनि आबद्ध हुनुहुन्छ । बिराटनगरमा पहिलो संध्याकालिन दैनिक पत्रिका सञ्चालन गरेका उनी यतिबेला कान्तिपथ साप्ताहिकका संस्थापक, सल्लाहकार सम्पादक छन् ।
विजयको आधार
विराटनगरमा पार्टीको संगठन सुदृढ बनाउनुभएका भिम यो चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । उहाँ नगर सभापति भएपछि दोस्रो संविधानसभा निर्वाचनमा नगरभित्रका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो । त्यसबेला उपेन्द्र यादवको प्रभावक्षेत्र ५ नम्बरमा अमृत अर्यालले १० हजार मतअन्तरले जित्नुभयो । लोकतान्त्रिक फोरमको प्रभावक्षेत्र ६ मा महेश आचार्य ५ हजार मतान्तरले विजयी हुनुभयो । ७ नम्बर क्षेत्रमा विजयकुमार गच्छदारलाई साढे तीन हजार मतले डा. शेखर कोइरालाले जित्नुभयो ।
विराटनगर महानगरमा कांग्रेसको पहिलो भोट छ, दोस्रो फोरम अनि तेस्रोमा मात्र एमाले हो भन्ने आँकडा केलाउनुहुने भिम एमालेसँग कांग्रेसको प्रतिस्पर्धा नै नभएको बताउनुहुन्छ ।
भिमको पुर्पुरो पनि बलियो छ । छ वर्षअघि पहिलोपटक नगर सभापति लड्न खोज्दा उहाँलाई रोक्ने कसरत भएको थियो । नगर सभापतिमा प्रतिस्पर्धा गर्नुभएका भिमले ७ सय मतले जित्नुभयो । दोस्रोपटक एक हजार मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्नुभयो । विराटनगर महानगरको चुनावमा अन्य राजनीतिक दलहरुबीच भएको तालमेलले खास असर नगर्ने उहाँको निष्कर्ष छ । कांग्रेसले एक्लै चुनाव जित्ने उहाँको दाबी छ ।
मेयर र सपना

नेपाली कांग्रेसका संस्थापक वी.पी. कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मभूमि, नेपालको लोकतान्त्रिक आन्दोलनको उद्गमस्थल, नेपालको औद्योगिक नगरी पूर्वाञ्चलको केन्द्र,प्रदेश नं १ को एकमात्र महानगरपालिका र केन्द्रस्थललाई नेपालको नमूना महानगर बनाउने संकल्प लिनुभएका भिम पराजुली जस्तोसुकै अवस्थामा पन चुनौतीको सामना गरी विजय हासिल गर्नसक्ने साहसी युवाको नाम हो । उहाँका सामुन्ने अरु उम्मेद्वारहरु फिका परेका छन् । शान्त,समृद्ध विराटनगर हाम्रो सपनाको महानगर भन्ने नारालाई सार्थक बनाउने मेयर पदमा विराटनगरवासीले अत्यधिक मतले विजयी बनाउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *