Loading...
दशौं हजार जनताको उपस्थितिमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्दै भने प्रतिगामी किल्ला ढालेर विराटनगरमा नयाँ इतिहास रच्छौ

विराटनगर, १० असार । संघीय समाजवादी फोरम नेपाल मोरङले सदरमुकाम विराटगरमा विशाल चुनावसभा गरेको छ । दशौं हजार जनताको उपस्थितिमा आयोजना गरिएको सो सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गरेका छन् ।
शनिबार दिउँसो विराटनगरको हातखोला मैदानमा सभा आयोजना गरिएको थियो । हजारौं जनताको उपस्थितिले खचाखच भरिएको सभालाई फोरम नेपालका अध्यक्ष यादव, नेकपा माओवादी केन्द्रका शीर्ष नेता रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् ।
स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत तीन वटै प्रदेशमध्ये अति महत्वपूर्ण मानिएको र चासोका साथ हेरिएको विराटनगर महानगरपालिकामा चुनावी माहोल तताउन फोरम नेपालले शीर्ष नेतृत्वको अगुवाईमा चुनावी सभा आयोजना गरेको हो ।
सभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिहरुले कब्जा जमाएको विराटनगरको पुरानो किल्ला भत्काउने दृढता व्यक्त गरेका छन् । ‘जनताको पक्षमा इमान्दारीपूर्वक संघर्ष गरिरहेको परिवर्तनशील शक्ति फोरम नेपालको अगाडि विराटनगरमा कसैको दाल गल्दैन । हेर्दै जानुस्, जनताको ब्यालेटमार्फत् पुराना किल्ला ढालेर फोरम नेपालले यसपाली इतिहास रच्दैछ’– अध्यक्ष यादवले भने ।
फोरम नेपाल र माओवादी केन्द्र जस्ता परिवर्तनकारी शक्तिको गठबन्धन अगाडि कुनै पनि शक्ति टिक्न नसक्ने उनले विश्वास व्यक्त गरेका छन् । आन्दोलनले प्राप्त उपलब्धि संस्थागत गर्न चुनावमा गएको तर्क गर्दै अध्यक्ष यादवले देशको राजधानी काठमाडौं भएपनि मुलुकको औद्योगिक राजधानी विराटनगर भएकोले यहाँको स्थानीयले गर्व महसुुुस गर्नु पर्ने बताए ।
‘ऐतिहासिक राजा विराटको नामले स्थापित विराटनगरीको आफ्नै गौरवमय इतिहास छ । यसमा हामी सबैलाई गर्व छ । धार्मिक, औद्योगिक एवं ऐतिहासिक शहर विराटनगरलाई विकासको मूलधानरसँग जोडेर यसलाई झन् आधुनिक बनाउने जिम्मा हाम्रो हो’– अध्यक्ष यादवले भने ।
यसैगरी, शनिबारको विराटनगर सभालाई उपेन्द्र यादवसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएपनि अन्तिम समयमा प्रचण्डको स्वास्थ्य ठीक नभएपछि उनको प्रतिनिधि भएर माओवादी नेता बादलले कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
सभामा बोल्दै नेता बादलले फोरम नेपाल र माओवादी केन्द्र परिवर्तनकारी शक्ति भएकोले दुवै दलको सहकार्य दीर्घकालीन हुनु पर्नेमा जोड दिँदै विराटनगरमा फोरम र माओवादीको चुनावी गठबन्धनप्रति इमान्दार र बफादार रहन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आगामी दिनमा पनि परिवर्तनकारी शक्तिहरुबीच चुनावी तालमेल हुनुपर्नेमा उनले जोड दिए ।
विराटनगर महानगरमाथि जीत हात पार्न फोरम नेपाल, कांग्रेस र एमाले चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । फोरम नेपाल र माओवादी केन्द्र विराटनगरमा तालमेल गरेर संयुक्त उम्मेदबारी दिएका छन् । महानगरको मेयरमा फोरम नेपालको तर्फबाट उमेश यादव रहेका छन् भने माओवादी केन्द्रको तर्फबाट उपमेयरमा नमिता न्योपाने चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *