Loading...
महाकाली नदीमा छिट्टै चार लेनको पुल बन्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता, संविधान कार्यान्वयनको जिम्मेवारीपनि काँग्रेसकै काँधमा ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अहिले महत्वपूर्ण मोडमा उभिएको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुरले शुक्रबार बेलुकी महेन्द्रनगरमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्र सामु संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डाका रुपमा रहेको बताएका हुन् ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको जिम्मेवारीपनि काँग्रेसकै काँधमा आएको बताए । ‘तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारीपनि काँग्रेसकै काँधमा आएको छ ।’ उनले भने । स्थानीय तह, प्रादेशिक र केन्द्रीय गरी तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन हुने प्रधानमन्त्री देउवाको भनाई थियो ।
लोकतन्त्रलाई कसैले खोस्न नसक्ने र जनताको चाहना अनुसार मुलुक चल्ने भन्दै उनले जनताकै चाहना बमोजिम मुलुक निर्वाचनमय भएको बताए । लोकतन्त्रलाई स्थायी रुपमा संस्थागत गर्न काँग्रेसले निर्वाचन जित्न जरुरी रहेको भन्दै देउवाले काँग्रेसले जित्न सम्पूर्ण स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।
उनले सुदूरपश्चिमको मायाले आफु प्रधानमन्त्री बनेको जिकिर गर्दै भने, ‘सुदूरपश्चिमको मायाले प्रधानमन्त्री भएको हुँ । मलाई सुदूरपश्चिममा जन्मेको घमण्ड छ । सुदूरपश्चिमवासीप्रति घमण्ड छ ।’ प्रधानमन्त्री देउवाले महाकाली नदीमा छिट्टै चार लेनको पुल बन्ने भन्दै पञ्चेश्वर परियोजना ल्याएरै छाड्ने प्रतिवद्धता जनाए । पञ्चेश्वर परियोजना निर्माणका लागि छिमेकी मुलुक भारतसँग छलफल चलिरहेको उनको भनाई थियो ।
चुनावी आमसभालाई काँग्रेसका केन्द्रीय सदस्यहरु एनपी सावद, रमेश लेखक, डाक्टर प्रकाशशरण महत, साँसदहरु बहादुरसिँह थापा, बलदेव बोहरा र तारणीदत्त चटौतले सम्बोधन गर्दै कञ्चनपुरका नौ वटै स्थानीय तहमा काँग्रेसले अघि सारेका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन आग्रह गरेका थिए ।
काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराको सभापतित्वमा सम्पन्न चुनावी आमसभालाई महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार बीरबहादुर सुनार, भीमदत्त नगरपालिकाका उम्मेदवार पदम बोगटी, बेदकोट नगरपालिकाका उम्मेदवार भोजराज बोहरालेपनि सम्बोधन गरेका थिए । अपरान्ह ४ वजेबाट सुरु हुने भनिएको चुनावी आमसभा बेलुकी झण्डै सात वजेमात्रै सुरु भएको थियो ।
चुनावी आमसभामा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी उपरीक्षक गोविन्द परियार, अधिकारकर्मी तथा पत्रकार मेनुका विष्ट बस्नेत लगायतका दर्जनौं व्यक्तिहरु काँग्रेस प्रवेश गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *