Loading...
निर्वाचन आयोगले राजपा नेता शुक्लाकै आग्रहमा एउटै चुनाव चिन्ह दिएको खुलासा

बुटवल- राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेताकार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइराख्न ‘स्वतन्त्र’ हैसियतमा उम्मेदवारी दिएका छन्। पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रूपन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन्।

रूपन्देहीको मर्चवार क्षेत्रमा कोटहीमाई, सम्मरीमाई र मर्चवारी माई तीन गाउँपालिका पर्छन्। यी गाउँपालिका रूपन्देही क्षेत्र नम्बर ६ मा पर्छन्, जहाँबाट शुक्ल सांसदमा चुनिएका हुन्। चुनावमा पार्टी सहभागी नभए पनि शुक्लले आफ्नो पकड कायम राख्न स्वतन्त्र हैसियतमा उठेका पार्टीका स्थानीय नेताकार्यकर्ताका पक्षमा चुनावी परिणाम ल्याउन खटिरहेका छन्।

‘पार्टी चुनावमा नआए पनि कार्यकर्ता चुनावमा लागेपछि सहयोग गर्नुपर्‍यो। कार्यकर्ताको भावनाविपरीत जान सकिँदैन’, उनले भने। कोटहीमाई, मर्चवारी माई र सम्मरीमाई गाउँपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सबै प्यानल उठाएको छ। उनीहरू स्वतन्त्र हैसियतमा उम्मेदवार भए पनि प्रचार प्यानलको गरेका छन्। राजपाका ‘स्वतन्त्र’ उम्मेदवारको पर्चा र पोस्टर एउटै छ।

मनोनयन दर्ता भएपछि ती गाउँपालिकामा खटिएका मुख्य निर्वाचन अधिकृतलाई शुक्लले फोन गरेर एउटै लाइनमा निर्वाचन चिह्न पारिदिन आग्रह गरे। निर्वाचन अधिकृतले पनि आग्रहलाई इन्कार गर्न सकेनन्। ‘उनीहरूलाई चुनावमा ल्याउदा सहज हुन्छ भनेर स्वतन्त्र उम्मेदवारी दिएका राजपा नेताको चुनाव चिह्न एउटै लाइनमा पारिएको हो’—एक निर्वाचन अधिकृतले भने।

एउटा मतपत्रमा चुनाव चिह्न भएका दुईतिर ६८ वटा लाइन छन्। २५ नम्बर लाइन राजपा उम्मेदवारलाई दिइएको छ। यो लाइनमा जोडी बालबालिका, चम्चा, डाडु, कंगारु, अखबार, खल, तिलहरीमाला र उनको डल्लो चुनाव चिह्न छन्। शुक्लकै आग्रहमा यो लाइन दिइएको हो।

कोटहीमाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका बालकृष्ण त्रिपाठीले पार्टी चुनावमा नआउनु बाध्यता भए पनि आफूहरु जनताको भाावना बुझेर चुनावमा आएको बताए।‘ समाजमा सबैले चुनाव चाहेका छन्, त्यही भएर भाग लिएका हौं,’ उनले भने।

मनोनयन दर्ताको अघिल्लो दिन राजपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले भैरहवा र परासीमा आयोजित विरोधसभामा सम्बोधन गरे।  विरोधसभामा उपाध्यक्ष शुक्ल गएनन्। उनी घरमै केही निकट कार्यकर्तासँग बसेर मर्चवारको चुनावी रणनीति बनाइरहेका थिए।

एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रूपन्देहीका ६ गाउँपालिकालाई जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रका रूपमा राखेको थियो। राजपाको चुनाव बहिष्कारका कारण संवेदनशील क्षेत्रमा राखिएका गाउँमै चुनावी माहौल चर्केको छ। जहाँ कुनै चुनावविरोधी गतिविधि छैन। ‘जसले गर्दा चुनावी माहौल बिग्रन्छ भन्ने ठानेका थियौं, उनीहरू चुनावमा आएपछि ती गाउँपालिका संवेदनशील भएनन्। गाउँमा चुनावी माहौल निकै राम्रो छ,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश  सिंहले भने।

कोटहीमाईमा पहिले अर्कै निर्वाचन अधिकृत खटाइएका थिए। उनी त्यहाँ नजान अनेक बहाना गरे। खटाइएका अधिकृत नगएपछि मनोज गैरे तोकिए। जिल्ला शिक्षा कार्यालयका उपसचिव गैरेले सुरुमा ‘आगोको भुंग्रोमा’ परेको अनुभूति गरे। तर अहिले उनलाई चुनाव निकै सजिलो लागेको छ। ‘बाहिरबाट अरूले अनुमान गरेजस्तो र मैले पहिले सोचेजस्तो अवस्था छैन, निकै राम्रो चुनावी माहौल छ,’ उनले भने।

सम्मरीमाई गाउँपालिकाका सहायक निर्वाचन अधिकृत टुकराज पाण्डेयले अप्ठ्यारो हुने मानिएको यहाँ कोही चुनावविरोधी नभएको र सबै चुनावका पक्षमा रहेको बताए।

मर्चवार रूपन्देहीको विकट मानिन्छ। गाउँका हेल्थपोस्टमा स्वास्थ्यकर्मी बस्दैनन्। पहिले गाविसमा सचिव बसेनन्। गाउँमा पुग्नुपर्ने अरू सरकारी सेवा पनि निकै सुस्त छ। गाउँमा जनप्रतिनिधि नहुँदाको पीडा भोगेका मर्चवारवासी पहिलेदेखि चुनावका पक्षमा थिए। जनता नै चुनावका पक्षमा भएकाले कोही विरोधमा जान नसकेको स्थानीय पत्रकार राजकुमार धवलले बताए। ‘जो चुनावको विरोधमा जान्छ, उसको राजनीतिक भविष्य सकिने देखियो। त्यसैले राजपाका नेताहरू स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा आए,’ उनले भने।

बुटवल बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक डा. माधव पन्थीले आगामी संसदीय चुुनावलाई हेरेर अहिले राजपाका नेता स्वतन्त्रको हैसियतमा चुनावमा आएको बताए।

‘अहिले चुनावमा नआए उनीहरूको पकड सकिन्छ। अहिले चुनावमा आएर पकड कायम राख्दै संसदीय चुनावमा जित्न शुक्ल आफैं खटिएका हुन्,’ उनले भने।

सबैको अजेन्डा मर्चवारको विकास

कृषिको उर्भर भूमि मर्चवार पहिलेदेखि नै पछाडि पर्दै आएको छ। सिँचाइ, स्वच्छ खानेपानी र शिक्षाको पहुँच यहाँका बासिन्दामाझ पुग्न सकेको छैन। मर्चवारवासीमाझ उम्मेदवारहरूले यिनै मुद्दा  अघि सारेका छन्। सिँचाइ सुविधा पुर्‍याएर कृषिको व्यवसायीकरण गर्दै समृद्ध मर्चवार बनाउने फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिकाका अध्यक्ष उम्मेदवार बब्लु शुक्लाले बताए।

संघीय  समाजवादी फोरमबाट मर्चवारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका केशवानन्द बानियाँले गाउँमा माध्यमिक विद्यालय र सुविधा सम्पन्न अस्पताल खोल्ने बताए। गाउँ—गाउँमा माध्यमिक विद्यालय नभएकाले विद्यार्थी पढ्न टाढा जानुपर्ने भएकाले उनीझैं अरू उम्मेदवारले निम्न माध्यमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउने र शिक्षाको गुणस्तर सुधार्ने घोषणा गर्दै चुनाव प्रचार गरिरहेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *