
काठमाडौं असार, १० । चुनाव बिथोल्न धम्की दिएर आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदबारहरु संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह हातले समातेको मशाल बोकेर चुनावी घरदैलो कार्यक्रममा ब्यस्त छन् । फोरम नेपाललाई मुख्य निशाना बनाएर राजपाले गतिविधि संचालन गरेपनि राजपाका उम्मेदबारहरुले भने फोरमको मशाल बोकेर चुनावी मैदानमा उत्रिसकेका छन् ।
राजपाको रुपन्देही जिल्ला नेता नीरज श्रीवास्तव लुम्बिनी नगरपालिकाको उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । तर, राजपाले चुनाव बिथोल्ने रणनीति लिएपछि श्रीवास्तव भने संघीय समाजवादी फोरमको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा फोरमका फखरुद्दीन खानको उम्मेदबारी छ । लुम्बिनी नगरपालिकाका ७ वडामा श्रीवास्तव पक्षका नेताले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । रुपन्देही क्षेत्र नम्बर ७ का राजपा सांसद कमलेश्वर पुरी पनि फोरम नेपालको पक्षमा भोट माग्दै चुनावी अभियानमा सक्रिय रहेका छन् ।
राजपाका अर्का जिल्ला नेता हरिकुमार चौधरी मायादेवी गाउँपालिका अध्यक्षका उमेदवार बनेका छन् । श्रीवास्तव र चौधरी मात्रै होइन रुपन्देही र कपिलवस्तुमा राजपाका ४ सय ५० भन्दा बढी कार्यकर्ता निर्वाचनमा होमिएका छन् । उनीहरूमध्ये धेरैले फोरम नेपालको चुनाव चिन्ह मशाल लिएर चुनाव लड्दै छन् ।
‘आफू संसदमा भोट हाल्ने तर जनतालाई भोट हाल्न नदिने राजपाको निर्णय गलत छ, म राजपामा छैन, अहिले तमलोपाको सांसद मात्र हुँ’, सांसद कमलेश्वर पुरीले भने, ‘लोकतन्त्रमा जनताको चाहनालाई कसैले रोक्न सक्दैन ।’
राजपाका केन्द्रीय नेताहरूलाई पनि आफूहरूको आन्दोलनले चुनाव रोक्न नसकिने थाहा छ। त्यसमाथि कार्यकर्ता उमेदवार बनेर जनताका घर–घरमा भोट माग्न हिँडेपछि ५ नम्बर प्रदेशका राजपाका नेतालाई अप्ठेरो परेका छन् । राजपाका नेताहरुले न त कार्यकर्ताका लागि मत माग्न सकेका छन् न त निर्वाचनको विरोध गर्न सकेका छन् ।
Facebook Comments