Loading...
गोर्खाल्याण्डको पीडा दुख्नेहरूलाई नेवाःल्याण्ड, थरुहट, मधेस, लिम्बुवान आदिको पीडा किन दुख्दैन ?- राजेन्द्र श्रेष्ठ

बुटवल, ११ असार । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा आईतबार सम्पन्न वृहत र्याली तथा अन्तिम चुनावी सभामा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्व भौतिक योजना मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले हुन गइ रहेको स्थानीय निर्वाचनमा ससफो नेपाललाई भारी मतले विजय गराउन अनुरोध गरे । उनले एमाले नेता ओलीले नश्लवादलाई प्रश्रय दिई पहाडी र मधेसीबिच विभाजनको रेखा कोर्ने ठूलो गल्ती गरेकाले उनलाई इतिहासले माफी नगर्ने बताए ।
सहअध्यक्ष श्रेष्ठले अग्रगामी परिवर्तलाई संविधान संशोधन मार्फत संस्थागत गर्न तथा वर्तमान संविधानलाई अधिकतम स्वीकार्य बनाउन नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरू समेत तयार हुँदा पनि आफूलाई लोकतन्त्रवादी कम्युनिष्ट भन्न रुचाउने एमालेले वाधा खडा गरेको हुँदा नेपालको राजनीतिको सबैभन्दा प्रतिगामी शक्ति एमाले नै भएको बताए । निर्वाचनमा मतदानका सन्दर्भमा उनले भने- “सर्प हिंडेपछि गोही कुट्नुको अर्थ छैन । एमालेरूपी सर्पहरूलाई दुला पस्नु अगाडी नै ठट्टाउनु पर्छ ।” संविधान संशोधनको विरुद्ध बुटवलमा एमालेद्वारा भत्काइएको साम्प्रदायिकता क्षम्य नभएको भन्दै उनले बुटवलको प्रतिगामी किल्ला ढाल्न ससफो नेपाल सहितको सयुक्त लोकतान्त्रिक मोर्चाका उम्मेदवारहरूलाई जिताउन अनुरोध गरे ।
श्रेष्ठले नेपालका काङ्ग्रेस र कम्युनिष्टहरूले राज्यसत्तालाई लोकतान्त्रिकरण गर्न सफल भए पनि नेपाल जस्तो देशमा युरोपका एकल जातीय राज्यहरूको समाजवाद र साम्यबादको नक्कल गरेको हुँदा असफल भएको बताए । उनले भने- “अहिले नेपाली समाज र यहाँकोे राज्यसत्ताको समस्या लोकतान्त्रिकरणको होइन, सङ्घीयकरणको हो । जवसम्म राज्यसत्ताको सङ्घीयकरण हुँदैन तवसम्म यहाँका उत्पीडित राष्ट्रियताहरूले मुक्ति पाउँदैन ।” उनले नेपालका सत्ताधारीहरूको दोहरो चरित्रप्रति भावुक हुँदै प्रश्न गरे- “गोर्खाल्याण्डको पीडा दुख्नेहरूलाई नेवाःल्याण्ड, थरुहट, मधेस, लिम्बुवान आदिको पीडा किन दुख्दैन ।”
सहअध्यक्ष श्रेष्ठको विचार सुन्न ठूलो सङ्ख्यामा जन समूहको उपस्थिति रहेको उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य वामदेव क्षेत्री, ससफो नेपालका नेता नवीन सुनुवार, रेशम मगर, मेयरका उम्मेदवार हुम वहादुर गलामी, उपमेयरका उम्मेदवार मञ्जु खड्का (पार्वती) लगायतका नेताहरूले पनि मसाल चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं १ का वडाध्यक्षका उम्मेदवार मोहम्मद समीर हकको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन हरीशंकर मदनवाल र स्वागत ससफो नेपालका उपमहानगर इन्चार्ज अशोक वर्माले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *