Loading...
आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।     रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।   विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको बताउनुहुन्छ धान विज्ञ भोलामानसिंह बस्नेत । यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको जानकारी उहाँले दिनुभयो ।

  विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । नब्बे ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञ बस्नेतको अनुभव छ ।    नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

  मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुन्छ । मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा धान खेती हुन्छ । तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको ६३ जातका धानको खेती गरिन्छ ।   चालु आर्थिक वर्ष २०७३÷७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क मन्त्रालयसँग छ । आगामी आव २०७४÷७५ मा ५४ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखिएको मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले जानकारी दिनुभयो ।

धान उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएकैले आगामी आवमा आर्थिक वृद्धिदर साढे सातबाट उकालो लाग्ने विश्वास गरिएको छ । यसैले यस वर्षको धान दिवसको नारा ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने तय गरिएको छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् । धान रोपाइँमा दहीच्यूराको संस्कृति कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।   मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

  धान दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

    प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ । धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ ।

आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैत धान र बर्खे धान प्रवद्र्धनका प्रयाससमेत भइरहेको सन्देशमा उल्लेख छ । नेपालमा धानको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्व रहिआएको तथा हरेक सामाजिक एवम् सांस्कतिक कार्यमा धानकै प्रधान्यता रहेको प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *