
काठमाडौं, १५ आषाढ । नेपाली कांग्रेसले अछाम र बझाङ् का केही मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै निर्वाचन आयोग समक्ष निवेदन दिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामका सभापति भरतकुमार स्वाँरले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको क्रममा अछाम जिल्ला चौरपाटी गाउँपालिका वडा न. ४ को बैधनाथ माध्यमिक विद्यालय मतदान केन्द्र कब्जा गरी अनधिकृत ढंगले मतदान गरेको र नेपाली कांग्रेसका कार्यकर्ता,प्रतिनिधिहरुले मतदान स्थगित गर्न मतदान अधिकृत समक्ष निवेदन गर्दापनि वास्ता नगरेकोले पुन ः मतदान गर्ने व्यवस्थाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रिपोटिड.् गरेको थियो ।
त्यस्तै अछाम जिल्लाकै साँफेबगर नगरपालिकाको वडा नं ६ चन्द्रोदय प्रा. वि. भाग्यश्वर मतदान केन्द्रमा समेत नेकपा एमालेले कब्जामा लिएर एकलौटी रुपमा मतदान गरेको र नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार रुपा आउजी र मेयरका उम्मेदवार श्रीध्वजबहादुर कूँबरलाई पनि प्रवेश गर्न नदिई घेराबन्दी गरेकोले सो स्थानमा पनि पुन मतदान गर्न माग गरिएको छ ।
त्यसैगरी मेल्लेख गाउँपालिकाको नन्देश्वरी मा.वि मतदान केन्द्र र वान्नीगढी गाँउपालिका वडा नं ५ नन्दामता मतदान केन्द्र तथा वडा नं छ के विन्दवासिनी मतदान केन्द्रमा भएका घट्नाको छानवीन गर्न माग गरिएको छ ।
यसै गरी नेपाली कांग्रेस बझाङ्का सभापति हर्कजंगबहादुर सिंहले जयपृथ्वी नगरपालिका वडा नं ७ को सुलिपिपलचौरु उच्च मावि केन्द्रमा नेकपा एमालेका तर्फबाट अनेरास्ववियुका महासचिवको नेतृत्वमा बुथ कब्जा गरेको र नेपाली कांग्रेसका उम्मेदवारहरुको प्रतिनिधिलाई समेत मतदान केन्द्रमा बस्न नदिएको हुनाले सो मतदान केन्द्रको मतदान पनि रद्द गरी पुन मतदान गर्न माग गर्नुभएको थियो ।
नेपाली कांग्रेसले ती सबै मतदान केन्द्रमा पुन मतदानको व्यवस्था गरी वास्तविक मतदाताहरुलाई निर्भयतापूर्वक शान्तिपूर्ण वातावरणमा आफ्ना प्रतिनिधि निर्वाचित गर्ने अवसर दिलाउन निर्वाचन आयोग समक्ष माग गरेको छ ।

Facebook Comments