Loading...
बाढीले सप्तरीको एक हजार पाँच सय घर डुबानमा, मधेशी पिडामा सरकार बेखबर

राजविराज, १७ असार । शनिवार विहान २ बजेदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नदीहरुमा आएको बाढीबाट जिल्लाको एक हजार पाँच सय घर डुबानमा परेको छ ।

जिल्लाको खाँडो, त्रियुगा, जीता, बिहुल, बलान लगायतका नदीहरुमा आएको बाढीका कारण बस्ती तथा धान खेत डुबानमा परेको हो । तिलाठी, लौनियाँ, सकरपुरामा समेत बाढी पसेको छ । बाढीको त्रासले गर्दा स्थानीयले पशु चौपाया, लत्ताकपडा बोकेर केही व्यक्तिहरु सुरक्षित गन्तव्यतर्फ लागेका छन् । बाढीबाट तिलाठीको बस्तीमा करिब ४ फिटसम्म पानी पस्दा जनजिवन थप कष्टकर बन्न पुगेको छ । खाना पकाउने चुलो तथा पानी खानकालागि प्रयोग गरिने ट्युवेल समेत पानीमा डुबेका कारण खानेपानीको समेत समस्या भएको छ । बाढीले गर्दा वालवालिका र वृद्धवृद्धालाई जोगाउन अत्यधिक समस्या भईरहेकोले सुरक्षित स्थानतर्फ लगिएको छ । सडक कटान गर्दा राजविराज–कुनौली सडकमा आवागमन समेत अवरुद्ध भएको छ । बाढीले राजविराज नगरपालिकाको वडा नम्वर– ९ र १० मा पसेको खाँडो नदीको पानीले गर्दा दर्जनौ घर डुबानमा परेको छ ।

बस्तीमा अचानक नदीको पानी पस्दा मलेठका मो. यासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा, खाद्यान्न, लत्ताकपडा समेत पानीमा बगेको पीडितले बताए । मलेठ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र समेत जलमग्न भएको छ । खाँडो नदीको पानीले गर्दा पर्खाल समेत भत्किएको छ । यस्तै लौनियाँ, मैनाकडेरी, वसविट्टि, तिलाठी, पौंवा, मुसहरनिया पिपराही, रायपुर, लौनियाँ, रुपनी, पकरी, रम्पुरा, मल्हनियाँ लगायतका गाउँ डुवानमा परेको छ । यस्तै महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा–४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा परेको स्थानीय सञ्चारकर्मी रामसेवक यादवले जानकारी दिएका छन् ।

newstoday

तस्विरहरुः बिटु मिश्रा/तिलाठी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *