Loading...
तत्कालिन महासचिव मदन भण्डारीको घर रहेको मोरङको रतुवा माई नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो झण्डा फहरायो

बिराटनगर । जननेता एवं नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको घर रहेको मोरङको रतुवा माई नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो झण्डा फहराएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एवं स्व. मदन भण्डारीको घर रहेको साविक इटहरा गाविसलाई समेत समेटेर बनाइएको रतुवा माई नगरपालिकाको मेयरमा एमालेले हार व्यहोरेको हो ।

रतुवा माई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी एमाले उम्मदेवारले ८ हजार १ सय मत ल्याएका छन् । रतुवा माई नगरपालिका मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यो नगरपालिका एमाले सांसद ऋषि पोखरेलको क्षेत्र समेत हो । विद्या भण्डारी एवं मदन भण्डारीको गाउँ र एमाले नेता पोखरेलको गाउँ समेत भएको ठाउँमा मेयरमा कांग्रेसले जितेको छ । जम्मा १० वटा वडा रहेको नगरपालिकामा एमालेले ३ वटा वडामा मात्रै जित हात पारेको छ भने बाँकीमा कांग्रेसले जितेको छ ।

त्यसो त एमालेले आफ्नो पुरानो आधार क्षेत्रका रुपमा रहेको लेटाङ नगरपालिका समेत गुमाएको छ । लेटाङको मेयरमा कांग्रेसले जित हात पारेको छ । उत्तरी मोरङमा उर्लाबारी, बेलबारी र सुन्दर हरैंचामा समेत कांग्रेसले अग्रता लिएको छ । केराबारीमा पनि कांग्रेसकै अग्रता छ । राष्ट्रपति विद्या भण्डारीकी देउरानी उपमेयरमा उम्मेदवार बनेको उर्लाबारीको मेयरमा  पनि कांग्रेसले अग्रता लिएको छ । मोरङका उत्तरी क्षेत्रहरुमा समेत एमालेले पराजय व्यहोर्नुपरेको छ । पार्टीमा लागेको यस्तो धक्कासँगै एमालेभित्र बहस सुरु भएको छ । सुन्दर हरैंचा र लेटाङ लगाउतका नगरपालिकाका अन्तरघात भएको चर्चा एमालेभित्र चल्न थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *