
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको राजपा यतिवेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो छलफल गर्ने तयारी भएको छ ।
सरकारले संविधान संशोधन लगायत आफूहरुको माँग पूरा नगरी उल्टै पेलेर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै राजपा एमालेसँग नजिकिएको हो । यो बीचमा राजपाले सरकारबाट समर्थन फिर्ता लिने तयारी पनि थालेको छ । यद्यपी पार्टीभित्र शीर्ष नेताहरुबीच मै मतमतान्तर देखिएको छ ।
राजपा निकट उच्च स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो लगायतका नेताहरु तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा उभिएका छन् ।
फिर्ता लिनुहुँदैन भन्नेमा नेताहरु शरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिल झा देखिएका छन् । उनीहरुले सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिए ठिक नहुने भन्दै संयोजक ठाकुरलाई भेटेरै चेतावनी दिएका छन् ।
तर, यही वीचमा राजपा र एमालेका युवा नेताहरुवीच दुई दलवीचको सम्बन्ध सुधारको लागि पटक पटक गोप्य भेटवार्ता भैरहेका छन् । एमालेबाट युवा नेता रविन्द्र अधिकारीले नेतृत्व गरिरहेका छन् भने राजपा नेपालबाट नेता मनिष सुमनले नेतृत्व गरिरहेका छन् । यी दुई नेताहरुको मध्यस्थतामा एमाले र राजपावीचको सम्बन्ध सुधारका प्रयासहरु भैरहेका छन् ।
नेता अधिकारीका अनुसार भोलि अपरान्ह राजपा नेपालका संयोजक महन्थ ठाकुर र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता तय भएको छ । भेटमा मधेसका मुद्दा सम्बोधन र आगामी रणनीतिबारे छलफल हुनेछ ।
Facebook Comments