Loading...
भारतको कुरा नसुनेपछि सरकार ढाल्न भारत सक्रिय, एमाले र राजपा मिलाउनमा भारतको जोडदार भूमिका

काठमाडौं,२१ असार । पछिल्लो समय नेकपा एमाले र राष्ट्रिय जनता पार्टीका नेताहरुले एक अर्काप्रति सकारात्मक धारणा राख्न थालेका छन् । एक समय एक अर्काका कट्टर विरोधी (निधेषकै राजनीति गरेका) एमाले र राजपाका नेताहरुको पछिल्लो समयको बोलीलाई हेर्दा सम्बन्ध सुध्रिदै गएको देखिन्छ ।

सोमबार मात्रै रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा राजपाका नेता मनिष सूमनले माग पूरा गर्ने नाममा कांग्रेस–माओवादी गठबन्धनले मधेसलाई धोका दिएको भन्दै एमालेसँग सम्बन्ध सुधार्ने प्रतिक्रिया दिएका थिए । यतिमात्रै होइन् उनले सरकारबाट समर्थन फिर्ता तयारीबारे समेत जानकारी गराएका थिए । त्यस्तै, सोही कार्यक्रममा एमाले युवा नेता रवीन्द्र अधिकारीले पनि राजपा र एमाले सम्बन्ध सुध्रिदै गएको र शीर्ष नेताद्धय केपी ओली र महन्थ ठाकुरबीच लामो वार्ता पनि हुन लागेको जानकारी गराएका थिए । उनले मधेसका माग एमालेले मात्रै पूरा गर्न सक्ने र संविधान संशोधन विधेयक अब एमालेले पारित गराउने विश्वास दिलाएका थिए । यसले के देखिन्छ भने राजपा र एमाले सम्बन्ध धेरै हदसम्म सकारात्मक बाटोतर्फ लम्किएको बुझ्न सकिन्छ ।


किन नजिकिए राजपा र एमाले, भारतको के भुमिका छ ?

हुन त नेपालका हरेक राजनीतिक घटनाक्रम र पार्टीका गतिविधिमा भारतको कुनै न कुनै भुमिका रहेको हुन्छ । र, एमाले र राजपा नजिकिनुमा धेरै हदसम्म भारतकै हात रहेको सुत्रहरुबाट जानकारी प्राप्त भएको छ । साथै स्थानीय तहको सबै चरणको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने भारतको रणनीति छ ।

यसका लागि भारतको मध्यस्ततामा एमाले र राजपाबीच गठबन्धन बनाईने छ । र, मेची महाकाली अभियानपछि सप्तरी घटनाले मधेसमा अस्तित्व संकटमा रहेको एमालेलाई पूनर्जीवन दिइनेछ । र, प्रदेश नम्बर १, ३, ५, ६, ४, ७ मा पहिलो नम्बरमा रहेको एमाले देशैभरी नै पहिलो पार्टी हुनेछ ।


एमालेलाई किन पहिलो पार्टी बनाउन चाहन्छ भारत ? कांग्रेस–माओवादीसँग किन रिसायो ?

पछिल्लो समय भारत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारसँग सन्तुष्ट छैन् । आफ्नै मध्यस्ततामा निर्माण भएको गठबन्धनले आफैलाई नटेरेपछि भारत असन्तुष्ट बनेको हो ।
भारत कांग्रेस–माओवादी गठबन्धनसँग रुष्ट हुनुमा कांग्रेसका बालकृष्ण खाँड रक्षामन्त्री हुँदा नेपाल–चीन संयुक्त सैन्य अभ्यास पनि एक हो । जुन कि भारतको चाहना विपरित भएको थियो । त्यस्तै, भारतको चाहना विपरित ओबीओरमा हस्ताक्षर, भारतलाई फास्ट ट्रयाक नदिनु, भारतले चाहेका नवराज सिलवाललाई आईजीपी नबनाउनु, भारतको खास व्यक्ति लोकमानलाई हटाउनु रहेका छन् । त्यस्तै, सुशीला कार्कीको महाअभियोग पारित नगरी फिर्ता लिनु, भारतीय औषधि कम्पनीहरुलाई बारम्बार चेतावनी दिनु, एमालेलाई छाडेर पनि संविधान संशोधनको प्रयास नगर्नु, प्रदेश नम्बर ५ को ३ जिल्लाको चुनाव रोक्न कुनै चासो नदेखाउनु रहेका छन् ।

स्रोतका अनुसार अब एमालेलाई राजपासँग मिलाई संविधान संशोधन विधेयक आफू अनुकुल पारित गराउने भारतीय रणनीति रहेको छ । भन्न त एमालेलाई राष्ट्रवादी पार्टी र त्यसमा पनि केपी ओलीलाई राजनेता भन्ने गरिन्छ । तर, भित्री खेल भने पुरानै छ । ओली पहिले पनि भारतनजिक थिए र अहिले पनि उतिकै छन् भन्ने कुरा यहाँ छर्लंगै छ ।

एमाले सरकारमा हुँदा वा नेतृत्व गर्दा बोलीमा जति नै भारतको विरोध गरेतापनि भारतको कुनै काम रोकिन दिएन, भारतले चाहेको हरेक कुरा पुरा गराई छाड्यो । चाँहे त्यो महाकाली सन्धी होस् या संविधानलाई संशोधन विना संविधान कार्यान्वयन हुन नदिने खेल । यी सबै कुरामा एमाले भारतकै चाहनाअनुसार काम गर्दै आएको छ ।

सुत्रहरुका अनुसार अहिले भारत एमाले जिताउने अन्तिम तयारीमा रहेको छ । यसैको सिलसिला हो एमाले र राजपाको सम्बन्ध सुधार हुनु । उसको रणनीति भनेको कांग्रेससँग अलग गराएर राजपालाई एमालेसँग गठबन्धन बनाई तेस्रो चरणमा चुनाव लडाउने रहेको छ । एमालेले बहुमत प्राप्त पहिलो पार्टी बनाई त्यसपछि आफ्नो चाहना अनुरुप संविधान संशोधन गराउने दाउ रहेको छ । भारतको कसरत सफल भयो भने मधेसमा कमजोर ठहरिएको एमाले अब देशको पहिलो पार्टी बन्नेछ । त्यसैगरी संविधान संशोधन अगावै शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सरकार ढालेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भारतको दाउ रहेको छ । यो कुराको खुलासा नेपाल पानाले यसअगाडि नै गरिसकेको छ कि भारत वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छ ।
यसरी नेकपा एमाले बाहिर राष्ट्रवादको नारा चर्काएर भित्रभित्रै भारतसँग मिलिभगत गरेर खेल खेलिरहेको छ । यस्तो अवस्थामा अब एमाले कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *