Loading...
संबिधान संसोधन हाम्रो माग हो राजपाको होइन, संविधान संशोधनको पक्षमा हामि सतप्रतिशत मतदान गर्छौ, यद्धपी यो संशोधन प्रस्ताव अझै अदुरदर्शी रहेकोले परिमार्जन गर्नु पर्छ – उपेन्द्र यादव

काठमाडौं, २६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधीन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पारे । उनले भने, ‘हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्ताव पारित गराउनको लागि पक्षमा नै मतदान गर्छ ।’ यद्धपी उनले प्रस्ताव अझै अपूरो, अधुरो र अदुरदर्शी रहेकोले यसलाई परिमार्जनसहित पारित गराउनु पर्ने बताए ।

अहिलेको संशोधन विद्येयकले मुलुकको सबै समस्याको समाधान गर्न नसकेपनि संविधान संशोधनको ट्रयाक भने खोलेको उनले स्पष्ट पारे । उनले थपे, ‘मूलभूत समस्याको समाधान यो विद्येयकले गर्न सक्दैन्, त्यही कारणले हामीले फरक मत अर्थात् संशोधन हालेका छौं ।’

उनले वर्तमान संशोधन विद्येयकलाई अझै परिमार्जन गरेर पारित गराउँदा मुलुकले निकास पाउने आफूहरुको भनाई रहेको बताए । उनले भने, ‘परिमाजर्नसहित प्रस्ताव पारित गरे मुलुक र जनताले निकास पाउँछन् ।’  यद्धपि, उनले यही प्रस्ताव पारित भएपनि मधेशी, आदिवासी, जनजाति, समानुपातिक–समावेशी, शासकीय स्वरुप, संघीयता लगायतका समस्या हल हुन नसक्ने दाबी गरे । यादवले पटक–पटक संविधानको कारण मुलुकमा द्वन्द्व नहोस् भनेर एकैचोटी समस्याको हल गर्नुपर्ने जिकिर गरे ।

अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजाने समेत स्पष्ट पारे । उनले भने, ‘जुनदिन हामी सरकारमा जाने आवश्यकता हुन्छ, त्यही दिन जान्छौं, अहिले यसबारेमा सोचेका छैनौं ।’ उनले राजपाले चुनावको विरोध गर्नु गलत भएको समेत स्पष्ट पारे ।  यादवले भने, ‘७५% अर्थात कुल जनसंख्याको मत खसकेको छ, के ती सबै गलत हुन त ?, निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय एकता बलियो भएको छ, के त्यो गलत हो र ?’

यादवले आफूहरुले राजपासँग सम्बन्ध राम्रो होस भनेर चाहेको भएपनि राजपाका नेताहरुले गैर–राजनैतिक अभिव्यक्ति दिएको, तल्लो स्तरको गाली÷गलौज गरेकोले राजपाका नेताहरुलाई स्वयम् जनताले पनि घृणा गर्ने बताए ।  उनले आफ्नो पार्टीले मुलुकलाई अनिर्णयको बन्दीबाट जोगाउनको लागि निर्वाचनमा भाग लिएको र यसले मुलुकलाई केही हदसम्म निकास दिएको स्पष्ट पारे । उनले भने, ‘निर्वाचन सम्पन्न भएको छ, यसले सबैले जितेका छन्, मुलुकले जितेको छ ।’ उनले निर्वाचन सम्पन्न भएको र निर्वाचनमा जनताहरुको उत्साहजनक सहभागिता रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीहरुको शीर उँचो भएको समेत बताए ।

‘राजनीतिमा हार जीत हुनु सामान्य कुरा हो, तर निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, यसले नेपालीहरुको छाती उँचो र चौडा भएको छ,’ यादवले भने, ‘यो सबैको लागि ठूलो उपलब्धि हो, जीत हो।’ यादवले गणितका आधारमा अहिलेसम्म विश्वमा कुनै पनि मुलुकको समस्या समाधान नभएको जिकिर गर्दै भने, ‘संविधान त्रुटिपूर्ण छ, विभेदकारी छ, यसलाई सच्याउनु पर्छ, त्यसैले अहिले सदनमा प्रस्तुत विद्येयक पारित भएपनि यसले समस्याको समाधान गर्न सक्दैन् ।’ यद्धपी उनले यो संशोधन विद्येयकले संशोधनको ट्रयाक भने खोल्ने पटक–पटक दोहोर्याए ।

उनले अहिलेको संविधानले व्यवस्था गरेको शासकीय स्वरुप न हाँसको चाल न बकुल्लाको चाल भएको भन्दै यसले मुलुकलाई अप्ठ्यारोमा पार्ने बताए ।  उनले २ नम्बर प्रदेशमा पनि एकैचोटी निर्वाचन गर्नुपर्ने कुरामा सरकार चुकेकोले गम्भिर गल्ती भएको आरोप लगाए । यादवले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले भाग लिने स्पष्ट पारे । उनले भने, ‘तेस्रो चरणको निर्वाचन मात्रै होईन, हामी प्रदेशको र संसदको निर्वाचनमा पनि भाग लिन्छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *