
दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यद्यपि, २ नम्बर प्रदेशको तेस्रो चरण भने अझै बाँकी छ । दुई चरणको निर्वाचनमा वाम खोल ओढेको चरम प्रतिक्रियावादी गुट एमाले प्रथम तथा कांग्रेस द्वितीय स्थानमा पुगेको छ । परन्तु, संघीय गणतन्त्र नेपाल र अधिकार सम्पन्न स्थानीय सरकार निर्माण माओवादी आन्दोलनको ठोस उपलब्धि हो ।
निर्वाचनमा त्यो स्थान हासिल गर्न एमाले र कांग्रेसले गरेको समान गतिविधि व्यापक खरिद–बिक्रीको हो । उदाहरणका लागि सोलुुखुम्बुको मुक्ली वडा जित्न कांग्रेसले ३५ लाख खर्च गर्यो भने संखुवासभाको मकालु गाउँपालिका जित्न एमालेले दुई करोड खर्च गर्यो । कांग्रेसले सोलुकै नोकरशाहबाट खर्च उठायो भने एमालेले अलैँची व्यापारीबाट असुल्यो । त्यस्तो खरिद–बिक्रीको हर्कत मौन अवधि नामको षड्यन्त्रकाल र मतदानको बिहानभरि गरियो । कतिपय स्थानमा त दिनभरि नै गरियो, बाटोबाटै मतदातालाई गोजीमा नोट थमाउने कामसमेत भयो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादी जनयुद्धको ऐतिहासिक महत्व स्वीकार गरियोस् भन्ने हाम्रो माग स्विकार्न पुच्छर धारा तयार देखिँदैन । त्यसैले पुच्छरधाराको समस्याविरुद्ध संघर्ष टड्कारो बनेको छ ।
एमाले आफैँले गरेको मौलिक धाँधलीचाहिँ कर्मचारीमार्फत रह्यो । मतदानका वेला मतदातालाई मतपत्र दिँदा माओवादीको चुनाव चिह्न छोपिने र एमालेको मात्र चिह्न देखिने गरी पट्याएर दिने, मतगणनाका क्रममा संख्या गोलमाल गर्ने, अंक लेखनमा गोलमाल, कम्प्युटरमा गोलमाल गर्ने काम एमाले वृत्तका कर्मचारीले गरे ।
अझ खतरनाक त के रह्यो भने रातो कपाल भएको गणक कर्मचारी एमाले रहेछ भने त्यसले स्वस्तिक छापमा प्रयोग हुने मसी कपालमा दलेर आउने अनि गणना गर्दागर्दै माओवादी चिह्न देखिनासाथ औँलाले कपाल छुने, त्यसपछि औँलाको मसी अर्को चिह्नमा दल्ने काम गरे । परिणाममा त्यो मतपत्र स्वतः बदर हुन पुग्यो ।
यसरी एमाले गुट प्रथम बन्यो । कर्मचारीमार्फत त्यस्तो धाँधली गर्न नसकेको हुँदा कांग्रेस द्वितीय बन्यो । पर्याप्त सामथ्र्य हुँदाहुँदै पनि स्वतन्त्र जनमतको सम्मान गरिनुपर्छ भन्ने माओवादी केन्द्र तृतीय बन्यो । अतः विचारणीय छ कि ‘जसरी पनि जित्ने’ संसदीय निर्वाचन प्रणालीमा वैज्ञानिक परिवर्तन नगर्ने हो भने बल प्रयोगको सिद्धान्त अख्तियार गरेको माओवादी केन्द्रले महान् लेनिनले झैँ सशस्त्र विद्रोहद्वारा राज्यसत्ता कब्जाको तयारीमा डट्नैपर्छ ।
Facebook Comments