
काठमाडौं ७, कात्तिक । संघीय समाजवादी फोरम नेपालले सोलुखुम्बु जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि लाक्पा शेर्पालाई उम्मेदबार बनाएको छ । पार्टीको निर्णय अनुसार शेर्पाले सोलुखुम्बुबाट उम्मेदबारी दर्ता गराएका छन् । जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुमा शेर्पा हातले समातेको मशाल चिन्हसहित चुनावी मैदानमा उत्रेका हुन् ।
संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधिसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको छ । मूलुकभर पहिलो चरणमा ३२ जिल्लामा संघ र प्रदेशसभाको निर्वाचन गर्न (कार्तिक ५ गते) मनोनयन दर्ता गरिएको छ ।
दोस्रो चरणमा ४५ जिल्लाको मनोनयन दर्ता भने कार्तिक १६ गते तोकिएको निर्वाचन आयोगद्धारा जनाएको छ । पहिलो चरणको लागि मुलुकभरबाट १ जना मात्रै शेर्पा उम्मेदवारले संघमा उम्मेदवारी दर्ता गराएका छन् ।
संघीय समाजवादी फोरमका वैकल्पीक केन्द्रीय सदस्य ल्हाक्पा शेर्पाले सोलुखुम्बुबाट प्रतिनिधीसभाको लागि उम्मेदवारी दर्ता गरेको जनाएको छ । शेर्पा प्रदेश समितिका अध्यक्ष समेत रहेका शेर्पा एक्ला उम्मेदवार हुन् । सोलुखुम्बुमा उनले वाम गठवन्धनबाट हेमकुमार राई (सुरविर) र कांग्रेसका बलबहादुर केसीसँग भिड्दै छन् ।
उम्मेदवारी दर्तापछि कुरा गर्दै उम्मेदवार शेर्पाले सिंगो शेर्पाहरुको तर्फबाट आफूले उम्मेदवारी दर्ता गरेको बताए । ‘म मात्रै त्यस्तो भाग्यमानी व्यक्ति परेँ । ३२ जिल्लाबाट म एक्लो शेर्पा उम्मेदवार बन्ने अवसर प्राप्त गरेको छु ।’ उनले थपे ‘जतिसुकै समावेशी र समानुपातिक सिद्धान्त सम्बन्धी कुरा गरेपनि अरुले शेर्पालाई स्थान दिनै चाहेन ।’
संघीय समाजवादी फोरम नेपाल मात्रै त्यस्तो पार्टी हो जहाँ जातीय पहिचानको आधारमा स्वायत्त प्रदेश स्थापना गर्ने विधनता व्यवस्था गरी अघि बढेकोले आफूले टिकट पाएको उनले दाबी गरे ।
सम्पूर्ण शेर्पाहरुको आशा र भरोसाको केन्द्रविन्दुको रुपमा आफू रहेको र सोलुखुम्बुका मतदाताले सम्पूर्ण शेर्पाहरुको तर्फबाट एक जना शेर्पालाई केन्द्रमा निर्वा्चित गराएर पठाउने दायित्व बोकेको र त्यो दायित्व पूरा गर्नेमा आफू विश्वास्त रहेको उनले विश्वास व्यक्त गरे ।
शेर्पा समुदायको ऐतिहासिक पहिचान, भाषा, धर्म, संस्कृतिको विकास र निरन्तरताको लागि पनि संघमा शेर्पाको प्रतिनिधित्व हुनु जरुरी रहेको उल्लेख गर्दै शेर्पाले भने, ‘अन्यबाट हाम्रो जातीय र वर्गिय मुक्ति सम्भव देखिएन । अब सबै पहिचानवादीहरुले आफूलाई मतदान गर्ने र निर्णय लिने बेला आएको छ ।’
ठूला भनिएका पार्टीहरुले शेर्पाहरुलाई प्रयोग मात्रै गर्ने गरेको भन्दै शेर्पाले दुःख समेत व्यक्त गरे । अब समय चिन्ने बेला आएको छ । ‘सबैले मलाई सिंगो शेर्पाको प्रतिनिधिको रुपमा उभ्याउन सफल हुनुहुनेछ भन्ने लागेको छ ।’ उनले भने ।
सोलुखुम्बुमा शेर्पासहित नेपाली कांग्रेसले बलबहादुर केसी, बाम गठवन्धनबाट माओवादीका हेमकुमार राई, नयाँ शक्तिबाट सुनिल खड्का लगायतले संघको लागि उम्मेदवारी दर्ता गराएका छन् । वैचारिक र सैद्धान्तिक रुपमा समेत प्रष्ट र तार्किक भएकाले शेर्पालाई जिताउनुको विकल्प नरहेको टिप्पणी राजनीतिक वृत्तमा हुने गरेको छ ।
नेपालको २२ वटा जिल्लामा करीव ५ लाख शेर्पाहरु बसोवास गर्छन् । सरकारी तथ्याङ्कमा भने करिव १ लाख १२ हजार मात्रै शेर्पाको जनसंख्या देखाइएको छ । बहुसंख्याक शेर्पाहरु बसोवास गर्ने क्षेत्रबाट समेत राजनीतिक दलहरुले शेर्पा उम्मेदवार पाएका छैनन् ।
Facebook Comments