
जनकपुरधाम ७, कात्तिक । संघीय समाजवादी फोरम नेपालमा धनुषा र महोत्तरीस्थित प्रमुख तीन दलका हजारौंको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी, नयाँ शक्ति र राप्रपाका केन्द्रदेखि जिल्ला स्तरका नेताहरुको नेतृत्वमा प्रवेश गरेको प्रभावशाली समूहलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।
मंगलबार धनुषाको सबैला र महोत्तरीको रामगोपालपुरमा छुट्टाछुट्टै आयोजित पार्टी प्रवेश कार्यक्रममा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने क्षमताका नेता कार्यकर्ताहरुको टीम फोरम नेपालमा प्रवेश गरेको हो ।
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. १ का सदस्य दिपक कार्की, श्याम यादव, जिल्ला सदस्य रामचरित्र यादवको नेतृत्वमा सयौं कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।
त्यस्तै, नयाँ शक्तिका केन्द्रीय सचिव प्रमोद गुप्ता र नयाँ शक्ति धनुषाका नगर संयोजक भूषण यादव, केन्द्रीय परिषद् सदस्य राजदेव यादव नेतृत्वको समूह पनि फोरम नेपालसँग जोडिएको छ ।
राप्रपाका नेता एवं स्थानीय चुनावमा धनुषाका उपमेयर प्रत्यास रहेका विनोद यादव, नेता बेचन महतो, एमाले नेता सूर्यनाथ यादव, रामलखन महतो र माओवादी नेताहरु दुखी मंसूर, राजीव यादवको समूह टिका लगाएर फोरम नेपालको सदस्यता लिएको छ ।
Facebook Comments