Loading...
रौतहटमा पनि छठ पर्व मनाइदै, आज छठपर्वको दोस्रो दिन ‘खरना’

नरेन्द्र साह,रौतहट, ८ कात्तिक रौतहटमा छठपर्व मनाउनका लागि धमाधम तयारी भइरहेको छ । भने पूजा सामग्री किनमेलका लागि अहिले बजारमा निकै चहलपहल बढेको पाइएको छ । छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिबल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ आवश्यक पर्ने भएकाले अहिले सदरमुकाम गौर र भारतको बैरगनिया लगायत विभिन्न बजारमा समान किनमेलको काम बजारमा भइरहेको पाइएको छ । पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र अन्य सामग्रीले विशेष महत्व राख्दछ। यस्तै, छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत सुरु भइसकेको छ। यस्तै, दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादका रूपमा ग्रहण गर्छन्। परिवारका अन्य सदस्यले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ । पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्ने गर्छन् र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पूजा गरी छठ पर्व समाप्त हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *