
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एमाले र माओवादी केन्द्रबीच भएको बाम गठबन्धनलाई लम्पसारवादी र खाक्रो राष्ट्रवादीको एकताको संज्ञा दिएका छन् । राईले केही समयअघिसम्म एमालेले माओवादीलाई लम्पसारवादी र विदेशीको दलाल तथा माओवादीले एमालेलाई यथास्थितीवादी, प्रतिगामी, खाक्रो राष्ट्रवादीको संज्ञा दिने गरेको स्मरण गर्दै यस्ता दुई शक्तिबीचको एकताले थप संका पैदा भएको उल्लेख गरे ।
इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले बाम गठबन्धन जनतालाई झुक्याएर संसदमा गई कमाई खानका लागि गठबन्धन गरिएको टिप्पणी गर्दै निर्वाचनसम्म मात्र टिक्ने दावी गरे । उनले बाम गठबन्धन दक्षिणपन्थीहरुको गठबन्धन भएको समेत आरोप लगाए । ‘जनतालाई अधिकार सम्पन्न गराउन नचाहने, संविधान संसोधन गर्न नमान्नेहरु कसरी बामपन्थी हुन सक्छन् ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘परिवर्तनका लागि काम गर्ने पो बामपन्थी हुन्छन् । नेपालका कम्युनिष्टहरु दक्षिपन्थी हुन् । उनीहरु नामपन्थी मात्र हुन् ।’
वरिष्ठ नेता राईले नेपाली कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको दावी गरे । कांग्रेसले पनि हतारमा गठबन्धन निर्माण गरेको उल्लेख गर्दै उनले बाम गठबन्धनबाट त्रसित नहुन कांग्रेसलाई आग्रह समेत गरे । दुई शक्तिहरु दुई ध्रुवमा ध्रुवीकृत भईरहेका बेला वरिष्ठ नेता राईले संघीय समाजवादी फोरम कुनै गठबन्धनमा नगई छुट्टै तेश्रोे शक्तिको निर्माण अभियानमा रहेको खुलासा गरे । ‘हामी कसैको पिछलग्गू हाईनौं । हामी छुट्टै तेश्रो धारको नेतृत्व गछौं । त्यहो संघीयवादी, पहिचानवादी, समावेशी र परिवर्तनकारीको धार हुनेछ’ उनले भने, ‘त्यसले मात्र उत्पीडितहरुको मुक्ति हुन्छ । आर्थिक समृद्धि हुन्छ र दीगो शान्ति कायम हुन्छ ।’
चुनावी तालमेल भने हुनसक्ने नेता राईले खुलाए । नेपाली कांग्रेससँग तालमेलको छलफल भईरहेको उल्लेख गर्दै सिट बाँडफाँड मिलेमा चुनावी तालमेल हुनसक्ने बताए । संघीय समाजवादी फोरम नेपाल इलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको बैचारिक अवधारणा विषयक’ बिषयक पाटी प्रशिक्षण कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं पूर्व मन्त्री अशोक राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख शुशिला श्रेष्ठ, केन्द्रीय सदस्य मित्रलाल चापागाईले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका लिम्बुवान प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समिति, नगर समिति र गाउँ समितिमा आवद्ध अगुवा नेता तथा कार्यकर्ताहरु, पार्टीका भादृ संगठन समाजवादी महिला फोरम, समाजवादी युवा फोरम, समाजवादी विद्यार्थी फोरम, संघीय प्रेस फोरममा सहित दुई सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Facebook Comments