
पोखरा । अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् । देउवा पोखरामा अखण्ड पार्टीका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एवम् पूर्व सांसद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरण गरेको बताउनु भएको छ ।
पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले एकतन्त्रीय शासन कांग्रेसले दुईपटक फालिसकेको र अहिले कम्युनिष्ट अधिनायकवाद शासनबिरुद्धको लडाईं भएको बताउँदै भन्नुभयो कांग्रेसले २००७ सालमा राणा शासन फाल्यौं, ०४६ सालमा पञ्चायत फाल्यौं, अब अधिनायकवाद लाद्ने कम्युनिष्टहरुलाई पराजित गर्छौं ।’
प्रधानमन्त्री देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।
प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए । सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए । यसैबीच, कालो झण्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।
१५/२० जनाको समूहमा रहेका मध्ये गौतमलाई प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न लागेका बेला अन्य भने भागेका थिए ।
Facebook Comments