
झापा १२, कात्तिक । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव झापामा आयोजित बृहत् पार्टी प्रवेश तथा निर्वाचन अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न दमक पुगेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गरेका बेला विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन अध्यक्ष यादव दमक पुगेका हुन् । मधेसमा पार्टी प्रवेशको लहर बढिरहेका बेला झापामा पनि पछिल्लो समय फोरमे नेपालले पार्टी विस्तारलाई तीव्रता दिएको छ ।
अध्यक्ष यादवको प्रमुख आतिथ्यमा आज दिउँसो हुन लागेको पार्टी प्रवेशमा विभिन्न पार्टी छाडेर तीन सय बढी नेता तथा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गर्न लागेको फोरम नेपाल लिम्बुवान प्रदेश समितिका प्रचार विभाग प्रमुख कमन देवानले जानकारी दिए ।
दमकमा आयोजित कार्यक्रमको आयोजना पार्टीको झापा जिल्ला समितिले गर्ने र व्यवस्थापन नगर समितिले गर्ने फोरम नेपाल झापा अध्यक्ष धिरेन लावतीले बताए ।
अध्यक्ष यादवले झापा जिल्लाको निर्वाचन अभियानको उद्घाटन गरेसँगै जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान प्रारम्भ हुने लावतीले जानकारी दिए । बालक मृत्यु प्रकरणपछि मच्चिएको गोली कान्डले बिर्तामोडमा तनाव सिर्जना भएर कर्फ्यु जारी रहेकाले कार्यक्रमलाई आंशिक असर पर्न सक्ने सम्भावना छ ।
Facebook Comments