
विराटनगर १२, कात्तिक । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कुनै पनि बहानामा आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सार्न खोजिए मुलुक धरापमा पर्न सक्ने बताएका छन् । चुनावमार्फत् मुलुकलाई स्थायित्व दिनु पर्नेमा जोड दिँदै यादवले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सार्नु महाअपराध हुने बताए ।
विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले भने,– ‘सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन । अदालतले मतपत्र छपाईको कुरो मात्रै गरेको र त्यो अहिलेका अफसेट प्रेसको युगमा चार दिनमा सम्भव रहेकोले चुनाव सार्नु हँदैन । चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो ।’
चुनाव सारे निष्पक्ष र स्वतन्त्र निर्वाचन आयोगमाथि प्रश्न उठ्ने बारे उनले ध्यानाकर्षण गराए । निर्वाचन अयोगले कुनै दलको हितमा चुनाव सारे त्यसको जवाफ जनतालाई दिनुपर्ने उनको भनाई थियो ।
उनले आफूहरुको कांग्रेससँग चुनावी तालमेलको लागि छलफल भइरहेको र आफू कहाँबाट लड्ने अहिले टुंगो नलागेको बताए । कांग्रेससँग सहकार्य गरेरै चुनावमा जाने उनी बताउँछन् । आफूहरुको सहकार्य कसैलाई हराउन नभई आफूहरु जित्नको लागि गरेको उनको भनाई थियो ।
उनले आफूहरुबाट राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव नभएको प्रष्ट पारे । उनले आफूहरुले अहिले मुख्यमन्त्रीको उम्मेदवारको घोषणा नगरेको सुनाए । ‘राष्ट्रिय जनता पार्टी र फोरमबीच मधेसमा प्रतिनिधि सभाम १५ र १७ र प्रदेश सभामा ३१ र ३३ सिटमा सहकार्य भएको छ,’ उनले भने, ‘कांग्रेससँग सहकार्य भएपछि यसमा थपघट हुन्छ ।’
उनले मुलुकमा अहिले भइरहेको राजनीतिक दलबीचको गठबन्ध अत्यन्तै राम्रो भएको तर त्यो निर्वाचनको लागि मात्रै नभई स्थायी भएमात्रै लाभदायक हुने बताए ।
Facebook Comments