
राजविराज, १२ कार्तिक । धादिङको गजुरी स्थित त्रिशुली नदीमा यात्रुवाहक बस खसेर भएको दुर्घटनाका मृतकहरुको आइतवार हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।
राजविराजबाट काठमाडौं गईरहेका ना ६ ख १४६७ नम्वरको यात्रुवाहक बस शनिवार विहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको हो । जिल्लाको तिलाठी, राजविराज, देउरी भरुवा, मानराजा, बोदेवरसाईन, शम्भुनाथ, कृष्णाशवरणका गरी २६ जनाको मृत्यु भएको छ । मृतकहरु संजित कुमार झा, अंजित कुमार झा, सिम्मी कुमारी झा, अभिनव झा, आदित्य झा, चन्द्रवती देवी झाको आइतवारै अन्त्येष्टि गरिएको छ । यस्तै चित्ररेखा प्रमाणी, चन्द्ररेखा प्रमाणी, चित्रलेखा प्रमाणी, रेखा प्रमाणी, नरेश मुखिया, समिक्षा कुमारी यादव, आशिकी कुमारी यादव, मानी यादव, पशुपति चौधरी, वर्षिय ऋषि आनन्द देव, पार्वती चौधरी, सुदिप चौधरी, सुशान्त चौधरी, रामानन्द यादव, प्रमोद ईशर, सुधीर कुमार यादव र समिक्षा यादवको समेत सामूहिक रुपमै सप्तकोशी नदी स्थित कोशी व्यारेजमा आजै अन्त्येष्ठी गरिएको छ ।
तिलाठीको झा परिवार, राजविराजका नेपाल आर्मीमा कार्यरत ऋषि देव, मानराजाका परमाणी परिवारकी ४ छोरीहरुको सामुहिक दाह संस्कार कोशी ब्यारेजमा गरिएको छ । झा परिवारलाई झा परिवारकै माहिलो छोरा अर्थात मृतकका माहिला भाइ मन्जित झाले दागवत्ती दिएका छन् । सन्जीत झा र उनकी पत्नीलाई एउटै चितामा र बाँकीलाई छुट्टा–छुट्टै चितामा राखेर अन्तिम संस्कार गरिएको छ । बस दुर्घटनामा १६ जना अझैं बेपत्ता रहेकोमा सप्तरीको झा परिवारका २ जना, मृतक सन्जीत झाकी साली पुजा झा तथा कान्छो छोरा प्रतिक अझैं बेपत्ता छन् । उक्त घटनाप्रति सिङ्गो सप्तरी जिल्ला नै शोकमा डुबेको छ । राजविराज नगरपालिकासहित जिल्ला स्थानीय तहको कामकाज समेत आइतवार ठप्प रह्यो ।
newstodat.com.np
Facebook Comments