
भरतपुर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा चिनियाँ राजदूतको सक्रियता समेत बढेको छ । खासगरी उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई चुनावमा सघाउन दौडधुप बढाएको सुत्रहरुबाट जानकारी प्राप्त भएको छ ।
उनी सोमबार चितवनको भरतपुर पुगेकी छन् । निर्वाचन क्षेत्र नम्बर ३ पर्ने यहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्दैछन् । संयोग त के परेको छ भने चिनियाँ राजदूत आएकै दिन प्रचण्ड पनि चितवन आइपुगेका छन् ।
पछिल्लो समय चीनले वाम गठबन्धनलाई जिताउन करोडौं रुपैयाँ दिएको खबर आइरहेका बेला चिनियाँ राजदूतको भरतपुर भ्रमण र प्रचण्ड पनि सोही दिन पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैले चिनियाँ राजदूत प्रचण्डको पोजिशन बुझ्न यहाँ आएको तर्क गरेका छन् । र, त्यसैअनुसार जिताउन चीनले रणनीति बनाउनेछ ।
चिनियाँ राजदूतले प्रत्यक्ष रुपमा प्रचण्डलाई भेटेको खबर प्राप्त नभएपनि उनले वाम गठबन्धनबा निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीसँग भेट गरी चितवनको पर्यटन र कृषिलगायत विविध क्षेत्रको विकासमा चीन सहयोग गर्न इच्छुक रहेको बताइन् ।
ठूलो सहयोगको घोषणा
उनसँग भेट गर्न जिल्ला समन्वय समितिले आफ्नै कार्यालयमा आज भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा राजदूत यू होङले नेपालको विभिन्न क्षेत्रमा चिनियाँ सरकारले सहयोग गरेको स्मरण गर्दै चितवन जिल्लाको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पर्यटकीय नगरीको रुपमा विकसित चितवनको पर्यटन क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न चीन तयार रहेको बताइन् ।
आधुनिक कृषि प्रणाली चितवनमा आवश्यक रहेको भन्दै उनले कृषि क्षेत्रको विकासको लागि चीन सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने समेत बताईन् । जिल्लामा प्राविधिक शिक्षामा सहयोग गर्न पनि चीन सरकार सकारात्मक रहेको राजदूत होङले बताईन् ।
चीन सरकारको सहयोगमा बनेको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नती र आधुनिकीकरणका लागि सहयोग गर्ने, त्यस्तै चीन र नेपालको विकास र विकासका अवधारणा आदानप्रदान गर्न पनि आवश्यक रहेको भन्दै राजदूत यु हङले चीनमा हुन लागेको चिनिया एक्स्पोमा सहभागी हुन समेत जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध समेत गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद सुवेदी लगायतले चितवनको विकास निर्माण र आवश्यक सहयोग गर्नुपर्ने क्षेत्रको बारेमा जानकारी गराएका थिए ।
Facebook Comments