Loading...
प्रख्यात भाषा वैज्ञानिक डा. सुनिल कुमार झाको अन्त्येष्टि आजै गरिने तयारी

राजविराज, १४ कातिक । मैथिली भाषाका प्रख्यात भाषा वैज्ञानिक प्राध्यापक डाक्टर सुनिल कुमार झाको ७६ वर्षको उमेरमा सोमबार जनकपुरमा मृत्यु भएको छ । राजविराज नगरपालिकाको गोठम स्थायी घर भएका राजविराज वडा नम्बर २ (साबिक वडा नम्वर ९) निवासी डा. झा विगत केही महिनादेखि लिभर सम्वन्धि रोगबाट पीडि़त रहँदैआएका थिए । चेन्नईमा एम.डी.अध्ययनरत आफ्ना नाति अमितको निगरानीमा स्थानीय अस्पतालमा पत्थरीको शल्यक्रिया गरिएको थियो । तत्पश्चात उनको लिभरमा समस्या भएपछि ज्वाइँ राघवेन्द्र झाको निगरानीमा उपचार गराउँदै आईरहेको अवस्थामा सोमवार करिब साढ़े एगारह बजे जनकपुरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
डा. झाका एक छोरा र दुई छोरी रहेको छ । उनका धर्मपत्नीको केही वर्ष अघि निधन भएको थियो । उनका छोरा सिभिल इन्जिनियर राजेश झा (दिलिप) माल्दिभ्समा कार्यरत छन् ।
महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजमा अंग्रेजी विषयको अध्यापन शुरु गरेका उनी क्याम्पस प्रमुख भई अवकासप्राप्त गरेका थिए । डा. झा अंग्रेजी विषयमा एमए तथा भाषा विज्ञान अन्तर्गतMaithili : Some Aspects of Its Phonetics and Phonology विषयमा इंग्ल्याण्डबाट एम फिल र विद्यावारिधि गरेका थिए । उनीद्वारा अंग्रेजी भाषामा लेखिएको शोधग्रन्थ भारतको मोतीलाल बनारसीदास नामक प्रकाशन संस्थाबाट प्रकाशित छन् । अन्तर्राष्ट्रीय स्मारिकाहरुमा वहाँका अंग्रेजी र भाषा विज्ञान सम्वन्धि अनेकौ लेख, निबन्ध एवम् शोध प्रकाशित छन् ।
दुई पटक शिक्षा पुरस्कार प्राप्त गर्ने डा. झा विक्रम सम्वत २०७० मा नेपाल विद्यापति मैथिली पुस्कार कोषबाट अनुसन्धान पुरस्कार, विक्रम सम्वत २०७१ मा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनबाट मिथिला रत्नको उपाधि, विक्रम सम्वत २०७२ सालमा मैथिली साहित्य परिषद, राजविराजद्वारा शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कार आदि सम्मानहरु प्राप्त गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयका काउन्सिल सदस्य, अंग्रेजी र मैथिली विषय समिति सदस्यको भूमिका निर्वाह गरेका डा. झा नेपालका प्रसिद्ध भाषा वैज्ञानिकक रूपमे चिनिन्थे ।
राजविराजको मैथिली साहित्य परिषदद्वारा प्रकाशित हुँदैआएको वाणी पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी निर्वहन गर्दैआएका उनी सगरमाथा साहित्य परिषद,राजविराजका संस्थापक अध्यक्ष तथा मैथिली साहित्य परिषदका संस्थापक कार्यकारिणी सदस्य ( वि.सं २०२६ साल) भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *