
जनकपुरधाम, १५ कार्तिक ।
अगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं. ३ मा मधेशका दुई जना प्रभावशाली नेता आमने सामने हुने भएका छन् ।
उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि र राजपा नेपाल–संघीय समाजवादी फोरम गठबन्धनबाट राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य एवं मधेशका प्रभावशाली नेता राजेन्द्र महतो आमने सामने भएका हुन् । उनीहरु सँगै सोही क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट एमाले नेतृ जुली महासेठ तथा स्वतन्त्रबाट निलम्बित पूर्व सांसद् संजय साहकी पत्नी रंगीला साह पनि चुनाव लड्ने भएका छन् ।
राजपा र फोरमबीचको चुनावी तालमेल अनुसार प्रदेश नं. २ को ३२ प्रतिनिधिसभा सिटका लागि हुने चुनावमा फोरम १७ र राजपा १५ सिटमा प्रतिस्पर्धा गर्नेछ भने ६४ प्रदेशसभा सिटका लागि फोरमले ३३ र राजपाले ३१ सिट पाउने भएको छ । उक्त भागवण्डा मध्ये धनुषाको क्षेत्र नं. १, २ र ४ फोरमले पाएको छ भने क्षेत्र नं. ३ राजपाको भागमा परेको छ । सोही अनुसार उक्त क्षेत्रमा महतो प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हुन् ।
महतो, निधि, महासेठ तथा साहबीचको प्रतिस्पर्धाले उक्त क्षेत्रको चुनावी प्रचिस्पर्धा रोचक हुने भएको छ । चुनौतीपूर्ण क्षेत्रबाट चुनाव लडिरहेको भएपनि चारै नेताहरु आफु जित्नेमा ढुक्क रहेको मधेशपाटीलाई बताए ।
स्रोतका अनुसार नेपाली काँग्रेस सम्मिलित लोकतान्त्रिक गठबन्धन सँग राजपाको चुनावी तालमेल हुने लगभग तय थियो । तर राजेन्द्र महतोले धनुषा ३ नै रोज्ने अडान लिएपछि उक्त तालमेल हुन सकेन । स्रोतले भन्यो–‘नेपाली काँग्रेस र राजपा गठबन्धनको लगभग सबै कुरा मिलिसकेको थियो, तर दुबै नेता मध्ये कसैले धनुषा ३ छाड्न नमानेपछि अन्तिम समयमा आएर तालमेल भाँडियो ।’
नेपाली काँग्रेस सँग तालमेल हुन नसकेपछि राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच भएको चुनावी तालमेल पश्चात अगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि राजपाले महतोलाई धनुषा ३ बाट नै चुनाव लडाउने निश्चित भएको राजपा स्रोतले जनाएको छ ।
चारै नेतालाई सो क्षेत्रबाट चुनाव जित्म ठुलै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । महतो, महासेठ तथा साह तिनै सुडी जातका उम्मेदवार हुन् । तसर्थ महतोलाई जातीय मत तान्न पनि ठुलै चुनौती झेल्नु पर्नेछ । महतोको जितमा महासेठ तथा साह पनि बाधक बन्न सक्ने सम्भावना देखिन्छ । जातीय मत उनीहरुले केही केही बाँडेको खण्डमा निधिलाई फाईदा पुग्ने देखिन्छ ।
यता निधि स्थानीय जिल्लावासी भएको र महतो अन्तर जिल्लाको भएको नाराले पनि निधिलाई फाईदा पुग्ने सम्भावना देखिन्छ ।
madheshpati
Facebook Comments