
चितवन । वाम गठबन्धनबाट माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चुनाव लड्ने चितवन क्षेत्र नं.३ मा एमालेका युवा नेता राम न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् ।
नेता न्यौपानेले प्रदेश तर्फ क्षेत्र नं.३ (ख)मा स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको बताए । उनले एमालेको बलियो जनमत रहेको क्षेत्र नै माओवादीलाई दिएको भन्दै आफू स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको बताए ।
उनले प्रतिनिधि सभामा सोही क्षेत्रबाट लड्न लागेको माओवादी अध्यक्ष प्रचण्डलाई समेत असहयोग गर्ने चेतावनी दिए । प्रचण्डले चुनाव जित्न पनि सो क्षेत्र एमालेलाई दिनुपर्ने उनको भनाई छ ।
प्रदेश तर्फ एमालेले न्यौपानेसहितका केही नेताहरुको नाम सिफारिस गरेको थियो । तर वाम गठबन्धमा सिट बाँडफाडको क्रममा सो क्षेत्र माओवादीलाई दिने सहमती भएपछि युवा नेता न्यौपाने रुष्ट भएका हुन् । सो क्षेत्र माओवादीलाई दिने सहमती भईसकेपछि अहिले सो क्षेत्रका एमाले नेता तथा कार्यकर्ता निकै आक्रोशित बनेका छन् ।
मंसिर २१ गते हुने निर्वाचनको लागि भोली (विहीबार) मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार न्यौपानेलाई वाम गठबन्धनबाट असन्तुष्ट एमालेको केन्द्रीय समूहले अघि सारेको खुल्न आएको छ ।
Facebook Comments