Loading...
शहीद दुर्गानन्द झालाइ सलाम ठोक्दै त्यहिगाउँबाट महतोले शंख बजाएर सुरुगरे चुनावी अभियान

जनकपुरधाम, १८ कार्तिक । शहीद दुर्गानन्द झाको गाउँबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजेन्द्र महतोले आफ्नो चुनावी अभियानको शंखनाद गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि रहेका छन् ।

महतोले धनुषा क्षेत्र नं. ३ मा शनिबार निधिकै गाउँबाट आफ्नो चुनावी अभियानको शुरुआत गरेका छन् । निधिको जन्मथलोसमेत रहेको नगराइन नगरपालिकाको जटहीमा रहेको मधेश आन्दोलनका प्रथम शहीद दुर्गानन्द झाको शालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी अभियानको शंखनाद गरेका छन् ।

शनिबार बिहान आफ्ना सयौं कार्यकर्ता र स्थानीय जनताका बीच चुनावी अभियानको शुरुआत गर्दै महतोले यो निर्वाचन मतदान मात्र नभएर मधेश आन्दोलनको एउटा रुप रहेको बताए ।

कांग्रेसी नेता र आफ्ना प्रतिद्वन्द्वी विमलेन्द्र निधिलाई लक्षित गर्दै राजपा अध्यक्ष महतोले भने, “कांग्रेसी सरकारले मधेश आन्दोलनको बेला चलाएको बुलेटको जवाफ यसपाली धनुषाका जनताले ब्यालेटले दिनेछन् ।’

जनकपुरमा रहेको मधेश आन्दोलनमा शहादत दिएका विभिन्न शहिदहरुको परिवारलाई भेट्दै राजेन्द्र महतोले निधि गृहमन्त्री भएकै बेला उनको निर्देशनमा सप्तरीको मलेठमा गोली चलाएर ५ जनाको हत्या गरेको समेत आरोप लगाउँदै त्यसको बदला यसपाली धनुषा–३को जनताले लिने बताए ।

मधेश विरोधी संविधान बनाउने काम नेपाली कांग्रेसले नै गरेको र मधेशी जनताको मागअनुरुप संविधान संशोधनको प्रस्ताव कांग्रेसकै कारण सफल हुन नसकेको आरोप महतोले लगाए ।

उनले मधेशी जनता अब जागरुक भइसकेको र कसैको र कुनै प्रकारको लोभ लालच, भय त्रासमा आएर मधेश विरोधी पार्टीलाई र मधेशी आवरणमा रहेका मधेश विरोधी नेतालाई मतदान नगर्ने दाबी गरेका छन् ।

madheshvani.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *