
धनकुटा, २० कात्तिक । संघीय समाजवादी फोरम नेपालबाट धनकुटा–१ ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार अर्जुन थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाइने बताएका छन् ।
उनले धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने एजेण्डा लिएरै आफू निर्वाचनमा होमिएको बताए । ‘स्थायी रुपमा त धनकुटा प्रदेशको राजधानी घोषणा भइसकेको छ,’ उनले भने, ‘अब हामी स्थायी रुपमै धनकुटालाई प्रादेशिक राजधानी बनाउने ठोस प्रतिवद्धतासहित अघि बढेका छौ ।’
धनकुटा राणाकालदेखि नै पूर्वाञ्चलको केन्द्रविन्दु रहेकाले प्रदेशको राजधानी हुनुपर्ने उनको तर्क छ ।
प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी अभियानमा लागेका थापाले आफ्नाे पहिलो प्राथमिकता नै धनकुटालाई राजधानी बनाउनु रहेको दोहोर्याए ।
संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य तथा विदेश विभाग प्रमुख समेत रहेका थापाले प्रदेशसभा सदस्यमा आफू निर्वाचित भए समानुपातिक समावेशी सिद्धान्तका आधारमा धनकुटाका सबै जाति र समुदायलाई प्रतिनिधित्व हुने गरी प्रादेशिक कानूनहरु निर्माण गर्नका लागि भूमिका खेल्ने घोषणा गरे ।
धनकुटामा संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकबीच चुनावी मोर्चाबन्दी गरिएको छ । तीन दलले संयुक्त रुपमा निर्वाचनसम्बन्धी सभा र कार्यक्रम गर्ने तयारी गरेका छन् ।
मोर्चाबाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा प्रजातान्त्रिकका सुनिल थापा, प्रदेश सदस्य ‘क’का लागि कांग्रेसबाट मनोनारायण श्रेष्ठ र ‘ख’का लागि संघीय समाजवादी फोरमका अर्जुन थापा प्रत्यक्ष उम्मेदवार बनेका छन् ।
Facebook Comments