Loading...
मधेसी र जनजातिमाथि भएको भेदभाव अन्तकालागि मैदानमा उत्रिएको छु- हरिनारायण रौनियार

पर्सा २० कात्तिक । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार हरिनारायण प्रसाद रौनियारले मधेसी र जनजातिमाथि भएको भेदभाव र विभेद अन्त गर्नका लागि आफूले चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेका रौनियारले मधेसी जनता वर्षौदेखि उत्पीडन र विभेदमा पर्दै आएकाले मधेसी जनताको मुक्तिका लागि आफू संघर्षमा उत्रिएको उनले बताए ।

बहुमतको बलमा जारी भएको संविधान संशोधन गरी मधेसी र जनजातिका अधिकार सुनिश्चित गर्नुपर्ने माग पटकपटक उठ्दै आएको भए पनि संविधान संशोधन हुन नसकेकाले आफूले संविधान संशोधन गरी सबै जाति र समुदायको समान अधिकार स्थापित गर्ने अभियान अनुरुप पर्सा– ३ बाट उम्मेदवारी दिएको उनले बताए ।

उनले करिब ७० वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसले पटकपटक मुलुकको नेतृत्व गर्ने मौका पाएको भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी र विकास निर्माणका क्षेत्रमा ठोस प्रगति हुन नसकेकाले अब कांग्रेस र एमालेजस्ता पार्टीहरुको नेतृत्वमा मुलुकको समृद्धि र विकास सम्भव नहुने बताए ।

 

उनले आफूले चुनावी अभियान सुरु गरेको र मधेसी जनता आफ्नाे पक्षमा रहेको दाबी गरे ।
विगतमा कांग्रेस र एमालेजस्ता पार्टीहरुलाई पटकपटक मधेसी जनताले भोट दिएको भए पनि अब मधेसमा कांग्रेस र एमालेजस्ता पार्टीले जनताको समर्थन नपाउने उनले बताए ।

‘मतदाताहरुसँग भेटघाट सुरु गरेको छु,’ रौनियारले भने, ‘उहाँहरु हाम्रो पार्टी र हाम्राे एजेण्डाप्रति पूर्णरुपमा सहमत हुनुहुन्छ । हामीले तपाईलाई नै भोट दिन्छौ भन्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *