
राजविराज, कात्तिक । आगामी मंसिर २१ गते हुन दोश्रो चरणमा हुने प्रदेश र प्रतिनीधिसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा सतर्कता बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको समन्वयमा सुरक्षा अधिकारीहरुले शान्तिपूर्ण वातावरणमा स्वच्छ एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यकासाथ सुरक्षा सतर्कता बढाईएको हो । जिल्लाका कुल २ सय ९५ मतदानस्थल मध्ये २ सय ७ अति संवेदनशिल र ८८ संवेदनशिलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाईएको छ ।
सप्तरी क्षेत्र नम्वर १ मा अति संवेदनशिल ३२ र संवेदनशिल ४८, क्षेत्र नम्वर २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशिल रहेको छ । क्षेत्र नम्वर ३ मा अति संवेदनशिल ७७ र संवेदनशिल १७ तथा क्षेत्र नम्वर ४ मा अतिसंवेदनशिल ५१ र संवेदनशिल २३ रहेको छ । जिल्लामा एउटा पनि मतदान स्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको सुरक्षा समितिको विष्लेशन छ ।
पार्टी–पार्टीविच अन्तर द्वन्द तथा जिल्लाका अधिकांश मतदान स्थल भारतीय सिमासँग जोडिएकोले ती मतदान स्थलहरुमा हुन सक्ने अपराधिक गतिविधि र उच्छृखंल कार्यलाई ध्यानमा राखि मतदान स्थललाई वर्गिकरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् ।उनका अनुसार जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था मजवुत पार्न जिल्लाको सम्पूर्ण मतदान स्थललार्ई वर्गिकरण गरि सोही अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी गरी ४ हजारभन्दा बढी सुरक्षाकर्मी खटाईएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् ।
जिल्लामा निर्वाचनका लागि २ सय ९५ मतदान स्थलमा ४ सय ७८ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा प्रदेशसभा सदस्यतर्फ ८ र प्रतिनिधिसभा सदस्यतर्फ ४ पदका लागि १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरीमा निर्वाचन क्षेत्र नम्वर १ बाट ९४ हजार ९ सय २०, क्षेत्र नम्वर २ बाट ७९ हजार ६ सय ६३, क्षेत्र नम्वर ३ बाट ८५ हजार ४ सय ८९ र क्षेत्र नम्वर ४ बाट ८६ हजार ५ सय ४२ जना गरी कुल ३ लाख ४६ हजार २ सय १४ जना मतदाता छन् ।
newstoday.com
Facebook Comments