Loading...
मधेशीहरूको हत्या, दमनगर्नेहरूसंग जनताले हिसाबकिताब चुक्तागर्ने बेला आयो- राजेन्द्र महतो

जनकपुर, २२ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता तथा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् ।

जनकपुरमा भएको चुनावी साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरूले निर्वाचनरूपी आन्दोलन कै रूपमा उपयोग गरिरहेको बताउँदै जनताको मत आन्दोलनको पक्षमा आउने उल्लेख गरे ।

नेता महतोले विगतमा भएका मधेश आन्दोलनका विरूद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको स्पष्ट पारे ।

उनले भने,‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् । सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरूको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले लिन्छन् ।’

मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरूको हत्या गरेकोले सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरूलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो । महतोले अघि थपे, ‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ ।’

कांग्रेसका नेता तथा सोही क्षेत्रका उम्मेदवार विमलेन्द्र निधिप्रति इगिंत गर्दै उनले भने,‘मधेशी जनताको आन्दोलनमाथि गोली चलाउने र दमन गर्ने मान्छे मधेशको मसिहा हुनै सक्दैन । उनको पार्टी स्वयम पनि मधेशीको भलो गर्ने पार्टी होईन, आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भन्नु हास्यस्पद कुरा हो ।’

महतोले अब निधिलाई जनताले नपत्याउने ठोकुवा गरे । उनले थपे,‘जसको सन्तानलाई गोली हानेर हत्या गर्नेले त्यही पीडित परिवारसँग अब के भनेर भोट माँग्छन, यो त हुनै सक्दैन, यो निर्वाचन क्षेत्र नम्बर ३ मा पनि हुँदैन, र धनुषामा पनि हुँदैन ।’

madheshvani.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *