
नेपाली राजनीतिमा जे भैरहेकोछ, जे घटीरहेकोछ आम नागरिकको कल्पना भन्दा बाहिरको कुराहरु घटीरहेकोछ । टाउकाको मोलमोलाई गर्नेसंग सत्ता सझेधारी होस् या बाम होस् या लोकतान्त्रिक शक्तिको सरकारमा टुलुक्क सहभागिता, संविधान सभाको कुरा गर्दा बयलगाडाको विदेश यात्रा भन्नेहरु नै संविधानसभाको टाउके गनिने भएको होस् या धोका पाइरहने र दिइ रहने सँगै बारम्बार सत्ता साझेदारी यी घटनाहरु असामान्य र जटिल छन् । सैध्दान्तिक हिसाबले हेर्दा कम्युनिष्ट र लोकतान्त्रिक पार्टीहरु विपरित ध्रुवका पार्टीहरु हुन् तर सत्ता र कुर्सी प्रलोभनमा यिनीहरुले सिध्दान्त बिर्सिरहन्छन् र जनतालाई सरप्राइज दिईरहन्छन् ।
फेरी एकपटक नेपाली राजनीतिमा सरप्राइज प्याकेज स्वरूप वाम गठबन्धन देख्न पायौं । पानी बारबारको स्थितिमा पुगेका नेताहरुले एकअर्काप्रति देखाएको आत्मियता र केहिदिन अघिसम्म आरोप-प्रत्यारोपमा खरो उत्रिएकाहरुको पुनर्मिलन हेर्न लाएक देखिन्थियो । नेपाली राजनीतिमा वौद्धिक नेताको रुपमा छवि वनाएका नेता डा. बाबुराम भट्टराईको गठबन्धनमा सहभागिता लगतै बहिर्गमन अर्को सरप्राइज प्याकेज । मिडियाले त बाबुरामको सहभागितालाई नेपाली राजनीतिमा सेफ ल्यान्डिङ भनेर न्युज ट्रेन्ड नै चलाए भने बहिर्गमनमा आरोपै-आरोप । तर नेपाली राजनीतिलाई दिर्घकालिन र अलि फरक दृष्टिकोणबाट हेर्दा बाबुरामले हैन प्रचण्डले सेफ ल्यान्डिङ खोजिरहेको देख्न सकिन्छ ।
लेखक – सुजन राई
दोश्रोपटक प्रधानमन्त्री हुँदा सम्पति विवरणमा ३ तोला सुन देखाएका नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड वास्तवमै दक्षिण एसियाकै विलासी जीवन बिताइरहेका नेताका रुपमा रहेको विभिन्न गैरसरकारी संस्थाको रिपोर्टहरुले देखाउने गरेका छन् । त्यस्तै तत्कालिन माओवादी टुक्रा-टुक्रा हुनुपनि कुनै वैचारिक मतभिन्नता भएको कारण नभई नेतृत्वले तय गरेको आर्थिक अपारदर्शीता नै मुख्य कारण थियो। प्रतिपक्ष र विभिन्न सुत्रहरुलाई मान्ने हो भने प्रचण्डसंग अर्बौं सम्पति रहेको देखिन्छ । उनीमाथि आर्थिक अपारदर्शीताको झमेला लाग्न नदिन उनले जुनसुकै कदम चाल्न सक्छन, चाहे त्यो पार्टीको क्षयिकरण होस् या निकटबन्दीसंगको सम्बन्धमा पूर्णविराम|
पछिल्लो बाम गठबन्धन यिनै स्वार्थ वरिपरी घुमेको छ । गठबन्धनमा डा. भट्टराईको प्रवेश वलीको रणनीति थियो किनकि बौद्धिक छबि बनाएका भट्टराई गठबन्धनमा रहंदा गठबन्धनलाई प्रत्यक्ष फाइदा हुने उहाँको ठम्याई थियो । भट्टराईको बहिर्गमन प्रचण्डको रणनीति र कार्यनीतिक सफलता हो । पार्टीभित्र रहदा आर्थिक अपारदर्शीता र एकै खाले नेतृत्व प्रणालीप्रति असन्तुष्ट भट्टराईले गठवन्धनमा पनि आफुलाई चैनसाथ बस्न नदिने देखेपछि प्रचण्डले बहिर्गमनको ढोका खोलिदिएका थिए ।
अर्कोतिर प्रचण्ड रणनीतिमा भट्टराईलाई पावरफुल र पावरलेस दुवै स्थितिमा राख्न नहुने ठम्याई छ । त्यसैले भट्टराई नेपाली राजनीतिमा रहिरहिनु पर्ने सार्वजनिक अभिव्यक्ति दिन उनी पछि पर्दैनन् । यदि भट्टराईलाई राजनैतिक र नैतिक पतनको अवस्थामा पुय्राए उनले विगतका सम्पूर्ण पोल खोलिदिन सक्ने तर यथास्थितिमा पोल खोले भट्टराई आफैले पनि नेतृत्व गरेको जनयुद्धको ध्वज्जी उड्ने भएकाले अहिलेको अवस्थामा पोल नखोल्ने उनको बिश्वास छ ।
वाम गठबन्धनसँगै पार्टी एकिकरणको सोंच बनाएका प्रचण्डले पार्टी हितको निम्ति कम व्यक्तिगत हितका निम्ति धेरै स्वार्थ सहित यो कदम अगाडी बढाएका हुन् । उनले सोचे जस्तै भएमा एकीकरण हुनसक्ने सम्भावना बढी छ । पार्टी एकीकरण गरे माओवादी केन्द्रले गरिसकेको र गर्दै आएको कार्यहरु नयाँ दलमा समाहित हुँदा आफुले कम आलोचना भोग्नपर्ने, पुराना पार्टीमा हुँदा गरेको कार्यमा नजर कम पर्ने, आर्थिक अपारदर्शीताप्रतिको पुराना सहकर्मीहरुको असन्तुष्टि मेटिदै र बिर्सदै जाने र नयाँ पार्टीप्रति अरुको ध्यान आकर्षण गर्दै आफ्ना विश्वासपात्रलाई आफ्नो शक्ति सुम्पिएर गठबन्धन/नयाँ पार्टीबाट राष्ट्रपति बन्ने र केहि लोकप्रियता हासिल गरी नेपाली राजनीतिको मञ्चबाट ओझेल पर्ने र नेपथ्यमा रहेर नेपाली राजनीतिमा आफ्नो बोलबोला कायमै राख्ने प्रचण्ड रणनीति प्रष्टै बुझ्न सकिन्छ ।
Facebook Comments