Loading...
यथास्थितिवादी पार्टीहरूले देशको विकास गर्छु भन्नु ‘गोरु ब्याउनु” जस्तै हो- सहअध्यक्ष श्रेष्ठ

२७ कार्तिक २०७४, काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र– २०७४ एक कार्यक्रमका बिच पार्टीका सहअध्यक्ष तथा निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले विमोचन गरी सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा नेपालका परम्परावादी यथास्थितिवादी पार्टीहरूभन्दा आफ्नो पार्टी नीति, सिद्धान्त र विचार सबै हिसावले नयाँ ढङ्गको पार्टी भएको बताउँदै उनले आफ्नो पार्टीको मुख्य एजेण्डा संविधान संशोधनका साथै पहिचानसहितको सङ्घीयता, समतामूलक समृद्धि र सुशासन रहेको बताए ।
आफ्नो पार्टीको संलग्नतामा सङ्घ र प्रदेशहरूमा बन्ने सरकारले ‘पाँच वर्षमा आधारभूत महत्त्वको पाँच काम’ गर्ने बताउँदै उनले ५ वर्षभित्र उर्जा शक्तिमा आत्मनिर्भर हुने, कूल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पुँजीको रूपमा विकास गर्ने, २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने, प्रति व्यक्ति आय दोब्बर पुर्याउने र निरपेक्ष गरिवीको रेखामुनी रहेका जनतालाई गरिवीबाट मुक्त गर्ने बताए । त्यसरी नै १० वर्षभित्र आर्थिक रूपमा आत्मनिर्भर बनाउने र देशलाई विकासशील मुलुकमा रूपान्तरित गर्ने र २५ वर्षभित्र मुलुकका जल, जमीन, जङ्गल, जडिबुटी, जनशक्तिजस्ता पाँच ‘ज’ रूपी स्रोत साधनहरूको अधिकतम उपयोग गरी देशलाई विकसित मुलुकको दाँजोमा पुर्याउने उनले बताए ।
पार्टीका सचिव रत्नेश्वर लाल कायस्थले सञ्चालन गरेको उक्त कार्यक्रममा नेता श्रेष्ठले पच्चिस वर्षमा राजधानीजस्तो ठाउँमा मेलम्चीको सपना देखाएर अहिलेसम्म खानेपानीको व्यवस्थापन समेत गर्न नसक्ने एमाले, काङ्ग्रेस जस्ता यथास्थितिवादी पार्टीहरूले देशको विकास गर्छु भन्नु ‘गोरु ब्याउँछ’ भनेर आशा गरेजस्तो मात्र भएको उनले बताए । त्यसैले अव नेपालको उदीयमान राजनीतिक शक्तिको रूपमा हरेक क्षेत्रमा आफ्नो अलग विकल्प बोकेको सङ्घीय समाजवादी फोरम, नेपाललाई अत्यधिक मतले विजयी गराउन उनले आग्रह गरे । उनले आफ्नो पार्टी एमाले माओवादी जस्तो ढँटुवा नभएको भन्दै आफ्नो पार्टी विजयी भए सङ्घमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीका साथै सबै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाई देशलाई राजनीतिक अग्रगमनको दिशामा लाने बताए । यस कार्यक्रममा सार्वजनिक गरिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र – २०७४ यसैसाथ संलग्न गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *