
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता मावधकुमार नेपाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका डा.प्रकाश शरण महतबीच गोप्य वार्ता भएको छ ।
मंगलबार राजधानीमा भएको गोप्य भेटवार्तामा एमालेका महासचिव एवम् क्षेत्र नं. ५ मा प्रतिनिधी सभाका उम्मेदवार ईश्वर पोख्रेललाई हराउने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।
‘ईश्वर पोख्रेल काठमाडौं क्षेत्र नं. ५ बाट कुनै पनि हालतमा पराजित हुनुपर्छ’, नेता नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘प्रकाशजी तपाई अगाडि बढ्नुस्, ५ नं. क्षेत्रमा एमालेका कम्तिमा तीन हजार मत तपाईको पक्षमा जान्छ । ईश्वर पोख्रेलको घमण्ड तोड्नु छ ।’
सो भेटमा कांग्रेस नेता डा.महतले काठमाडौं क्षेत्र नं. ५ मा जितका लागि सहयोग चहियो भनेर नेता नेपालसँग आग्रह गरेका थिए । जवाफमा नेता नेपालले पनि सहयोग गर्ने आश्वासन दिएको स्रोतको दाबी छ ।
वरिष्ठ नेता नेपाललाई एमालेको अध्यक्ष बन्न रोक्नका लागि महासचिव ईश्वर पोख्रेलले वाम गठबन्धन र माओवादीसँगको पार्टी एकीकरणको अस्त्र अगाडि ल्याएपछि एकले अर्कालाई हराउने अभियान चलेको हो । नेता नेपाल र महासचिव पोख्रेलबीच पछिल्लो दुई वर्षदेखि ठूलो विवाद रहँदै आएको छ ।
एमाले अध्यक्ष केपी ओली गुटका पोख्रेललाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा ओलीले प्रस्ताव गरेपछि नेता नेपाल शसंकित हुन पुगेको स्रोतको भनाइ छ ।
Facebook Comments