
तारापट्टी(धनुषा), ५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं ४बाट नेपाली काँगे्रसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले देशलाई कम्युनिष्ट तानाशाहीबाट रोक्न नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नुभएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नं ४ अन्तर्गत पर्ने मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ तारापट्टीमा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
उहाँले कम्युनिष्ट गठबन्धनका नेताहरुले सार्वजनिक रुपमा नै साम्यवादी व्यवस्था ल्याउने र ५० बर्ष शासन गर्ने घोषणा गरेकोले त्यसलाई रोक्न यो चुनावमा नेपाली कांग्रेसलाई नै जिताउनु पर्ने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतान्त्रिक शासन पद्धति, जनताका मौलिक अधिकारका विषय उठाएको र कांग्रेसले अगुवाई गरेका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानमा लिपिबद्ध गरी संरक्षित र सुरक्षित पारिएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुले जनताको अधिकार खोस्ने भएकोले यस पटकको चुनावलाई सहज ढंगले नलिन पनि उहाँले अनुरोध गर्नुभयो ।
उहाँले क्षेत्रिय राजनीतिक दलहरुले कम्युनिष्ट तानाशाहीलाई रोक्न नसक्ने र मधेशी जनताको अधिक सरोकारको संविधान संशोधनको विषयलाई पनि टुंगोमा पुर्याउन नसक्ने भएकोले नेपाली कांग्रेसलाई भोट दिएर आफ्ना अधिकार संरक्षित गर्न पनि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्यका उम्मेदवार चन्द्रमोहन यादव,क्षिरेश्वर नगरपालिकाका मेयर योगेन्द्र पँजियार , महाधिवेशन प्रतिनिधि कुमार कान्त झा लगायतका नेका नेताहरुले नेपाली कांग्रेसलाई जिताउनु आवश्यक रहेको बताउनुभएको थियो ।
Facebook Comments