
काठमाडौँ, मंसिर ६- एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव पछि देशमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने बताएका छन् । बहुमतको सरकार बन्ने निश्चित रहेको बताउँदै ओलीले भने,‘अब तमसुक गरेर ९/९ महिनामा सरकार फेर्ने दिन गए ।’ मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताए ।
अाजको नयाँ पत्रिकामा खबर छ-बहुमत प्राप्त गरेर पनि कांग्रेसले जनता भावना अनुसार काम नगरेको भन्दै अध्यक्ष ओलीले आगामी चुनावबाट देश भर नै वामगठबन्धनका उम्मेदवार विजयी भई बहुमतको सरकार बन्ने र जनताको चाहना अनुसार ५ वर्षसम्म निरन्तर सरकार चलाउने बताए ।
आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मञ्चमा आशिन गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देखाउँदै भने,‘अरु म जान्दिन प्रचण्डले थोरैमा पनि ३० हजार भोटले जित्नुपर्छ ।’
‘देश बनाउनु भनेको कुनै बाटोघाटो बनाउनु, ठेक्का पार्नु जस्तो होइन,’ चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका प्रचण्डका प्रत्याशी विक्रम पाण्डे प्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘साँच्चै देश बनाउनका लागि प्रचण्डको आवश्यकता छ, उहाँलाई भारी मतले जिताउने जिम्मा चितवनवासीको हो ।’
Facebook Comments