Loading...
‘नो भोट’ भन्दै हिडेका सिके राउतका कार्यकर्ता पक्राउ, निःशर्त रिहाई गर्न गठबन्धनको माग

नरेन्द्र साह,रौतहट, ८ मंसिर । आगामी निर्वाचनमा जनताले आफ्नो ‘राइट टू रिजेक्ट’ प्रयोग गरी ‘नो भोट’का लागि प्रचार–प्रसार गरेको अभियोगमा अशोक सिंह र वीरेन्द्र कुमार साहलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । साहलाई रौतहटको पिपरा चौकको चिया पसलबाट पक्राउ गरिएको छ भने ६० वर्षिय अशोक सिंहलाई हजमिनिया स्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको छ ।

नेपालको सर्वोच्च अदालतले विगतमा ‘राइट टू रिजेक्ट’ को प्रावधान निर्वाचनमा राख्न निर्देश गरे पनि वर्तमान निर्वाचनमा सो प्रावधान नराख्दा सो को विकल्पको रुपमा स्वतन्त्र मधेश गठबन्धनले, नेपालको विभेदपूर्ण संविधान तथा औपनिवेशिक शासन आफूलाई स्वीकार्य न भएको जनाउनका लागि, मतपत्रमा ‘कोठा बाहिर मोहर’ लगाई ‘नो भोट’ खसाउनकालागि जनतासँग अपील गर्दै आएको छ । यता नेपाल सरकारले निर्वाचनमा ‘नो भोट’ खसाउनका लागि शान्तिपूर्ण रुपमा जनतासँग आह्वान गरिरहेका कार्यकर्ताहरुलाई समेत निशाना बनाई तिनीहरुलाई डराउने–धम्काउने, यातना दिने तथा पक्राउ गर्ने कार्य गरिरहेको गठबन्धनका सह–संयोजक कैलाश महतोले विहीवारै जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अभियानको प्रचार–प्रसारलाई नै प्रतिबन्ध लगाएको भन्दै यस अघिको स्थानीय चुनावको क्रममा समेत उक्त गतिविधिमा संलग्न भएको अभियोगमा गठबन्धनका प्रवक्ता समेत गरी दर्जनौं कार्यकर्ताहरूलाई नेपाल प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाईएको छ । शांतिपूर्ण रुपमा ‘नो भोट’का लागि आह्वान गरिरहेका समर्थकहरुको गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यता तथा आधारभूत मानवअधिकारको घोर उल्लंघन भएको गठबन्धनको ठहर छ । उनीहरुको अविलम्ब निःशर्त रिहाईकोलागि स्वतन्त्र मधेश गठबन्धनले प्रेस विज्ञप्ति मार्फत सह–संयोजक महतोले माग गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *