Loading...
राष्ट्रियसभा सदस्य निर्वाचनको मिति पनि ताेकियाे, कति गते हुने भए निर्वाचन ?

काठमाडौँ, १५ पुस । सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्थानुरुप आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उक्त मितिको परामर्श दिएको आयोग स्रोतबाट थाहा भएको छ । निर्वाचन आयोगले नेपाल सरकारलाई राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते गर्न परामर्श दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवास, बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोलीले भेटेर उक्त निर्वाचनको यथाशीघ्र मिति घोषणा गर्न आग्रह गरेको थियो ।

यद्यपि सरकारले राजनीतिक दलसँग छलफल गरी मन्त्रिपरिषद्को आगामी बैठकपछि निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेश राजधानीमा निर्वाचन केन्द्र तोक्ने तयारी आयोगले गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका ५५० सदस्य तथा ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी दुई हजार ५६ जना मतदाता रहनुहुनेछ । प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले निर्वाचन अधिकृत तोक्नेछ । उक्त निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन महिला तथा एक एक दलित र अपाङ्गता वा अल्पसंख्यकसमेत गरी आठ आठ जनाका दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । उनान्साठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना मनोनयन गर्ने व्यवस्था छ । विद्यमान संवैधानिक व्यवस्थानुरुप राष्ट्रियसभामा २२ महिलाको प्रतिनिधित्व हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *