
सुरेन्द्र सिंह ,जनकपुरधाम
माघ १४ गते । धनुषाधाममा आइतबार दोश्रो मकर मेला लाग्ने भएको छ । हरेक वर्ष माघ महिनामा धनुषाधाममा लाग्ने गरेको मकर मेलामा धनुषासहित छिमेकी जिल्लाका श्रद्धालुभक्तजनहरु जाने गरेका छन् । गएको आइतबार पहिलो मकर मेला सम्पन्न भएको थियो । प्रत्येक आइतबार लाग्ने मकर मेलामा लामो समयपछि स्थानीय निकायले व्यवस्थापन गरिरहेको छ । यसअघि धनुषाधामस्थित विद्यालयले सो मेलाको व्यवस्थापन गर्दै आएको थियो । तर, जनप्रतिनिधिहरु चुनिएपछि लामो समयपछि यसवर्ष उनीहरुले मेला व्यवस्थापनको जिम्मा लिएका छन् । नेपालसहित छिमेकी राष्ट्र भारतबाट आउने श्रद्धालु भक्तजनहरुले धनुष मन्दिरमा दर्शन पूजा गर्ने गरेका छन् । सीता स्वयम्बरको क्रममा भगवान रामले उचालेको धनुषाको एक टुक्रा धनुषाधाममा झरेको किम्बदन्ती रहेको छ । मन्दिर परिसरमा रहेको धनुषा आकारको माटो दिनानुदिन बढ्दै गएको पुजारी भरत गिरीको दावी छ । धनुष आकारमा रहेको माटोमा जल र पुष्प अर्पण गर्दा मनोवाञ्छित फल प्राप्ति हुने गरेको जनविश्वास छ । धनुषाधाममा तेजपातको कारोबार मुख्य आकर्षण हुने गरेको छ । मेला भरिमा मात्रै लाखौ मुल्य बराबरको तेजपात विक्रि हुने गरेको छ । फलामको सामाग्री, फल (कसौर) लगायतको विक्रि पनि उत्तिकै हुने गरेको छ । मकर मेलामा मांस मदिराको विक्रि पनि निकै हुन गरेको छ । मांस मदिरातर्पmबाट पनि ठेकेदारले राम्रो रकम उठाउने गरेको स्थानीयहरुको भनाई छ ।
Facebook Comments