Loading...
प्रदेश २ को मुख्य मन्त्रिमा फोरम नेपालबाट बिरगंजका मो. राउत हुने निश्चित, को हुन राउत ?

जनकपुर २२, माघ । संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष लालबाबु राउतलाई चयन गरेको छ । फोरम नेपालको यो निर्णयसँगै वीरगञ्ज निवासी राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

आइतबार जनकपुरमा अबेर रातिसम्म बसेको फोरम नेपालको प्रदेशस्तरीय संसदीय दलको बैठकले नेता राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको छ । चुनावी प्रक्रिया गइसकेको फोरम नेपालको दलको नेताको लागि यसअघि राउतसहित ७ जनाले उम्मेदवारी दिएका थिए । तर, सर्वसम्मत ढंगले नेता चयन गर्ने सहमति अघि बढेपछि बाकी ६ जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।

खासगरी, मुख्यमन्त्रीका लागि राउतसँगै कोषाध्यक्ष विजय यादव र शैलेन्द्र साह प्रमुख दाबेदार थिए ।

फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रहेका लालबाबु राउत पूर्वसभासद पनि हुन् । उनी दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद थिए ।

फोरम उपाध्यक्ष राउतले अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै कानुनमा एलएलबीसमेत गरेका छन् ।
राजनीतिमा प्रवेश गर्नुअघिसम्म उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केही समय अंग्रेजी विषयमा प्राध्यापन पेशासमेत गरेका थिए ।

राजनीतिमा ०५८ सालदेखि प्रवेश गरेका राउत संविधानसभामा युवा पुस्ताका बौद्धिक नेताका रुपमा परिचित थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *