Loading...
रौतहटमा चिनी मिलले ९३०२ प्रजातिको उखु किन्न अस्वीकार, किसानहरु बने आन्दोलित

नरेन्द्र साह, रौतहट,माघ २७, । श्री राम सुगर मिल गरुडाले (सिऔपी) ९३०२ प्रजातिको उखु किन्न अस्वीकार गरेपछि किसानहरु आन्दोलित भएका छन । सो प्रजातिको उखुबाट चिनी उत्पादन पर्याप्त नभएको भन्दै उद्योगले अस्वीकार गरेको बताएको छ । विगतका वर्षमा सोही उद्योगले किन्दै आएको ती प्रजातिको उखु अहिले किन्न अस्वीकार गरेपछि किसानहरु आक्रोशित भएका हुन् । उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले उद्योग परिसरमा रहेका उखुको तौलमा ४० प्रतिशतसम्म कटौती गर्न थालेपछि आफूहरुले विरोध गरेको बताए । उद्योगमा सय क्विण्टल उखु तौल गराउँदा ६० क्विण्टलको मात्र मान्यता हुन थालेको र अन्य जातको उखुलाई पनि सोही व्यवहार गर्न थालेपछि किसान आक्रोशित भएको अध्यक्ष यादवको भनाइ छ । किसानले भने उद्योगकै खराबीका कारण यस्तो समस्या आएको हुन सक्ने बताएका छन् । स्थानीय प्रहरी प्रशासन, उद्योग र किसान प्रतिनिधिबीच उखुको परीक्षण गरी प्राविधिक रिपोर्टको आधारमा उखुको तौल कटौती गर्ने सर्वपक्षीय सहमति भएपछि तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको सङ्घका कोषाध्यक्ष मनोजकुमार सहनीले बताए ।उद्योगले उक्त प्रजातिको उखु नलिँदा रौतहटका उखु किसान भने मर्कामा परेका छन् । एक क्विण्टल उखु किन्दा उद्योगले करीब सात किलोमात्र चिनी निकाल्ने भएकाले उद्योगले नै घाटा बेहोर्नु परेको उखु प्रवन्धक सियाराम साहले बताए । रौतहटमा यसपालि ७ हजार विगाहमा उखु खेति भएपनि ११ सय ३८ विगाहमा भने सो जातको उखु खेति भएको उनले बताए । मिलले पटक पटक सो जातको उखु नलगाउन अनुरोध गर्दा समेत किसानले नमानेका कारण वाध्य भएर मिलले उखु खरीद नगर्ने बताएको उखु प्रवन्धक साहले बताए । ०७१-०७२ देखि नै सो जातको उखुमा समस्या देखिन थालेपछि किसानलाई खेति नगर्ने मिलले सुझाव दिएको उनले बताए । अहिले सो जातको उखुमा विभिन्न रोग देखा परेकाले अन्य बालीमा समेत सर्न सक्ने हुँदा सावधान रहन मिलले किसानलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *