
नरेन्द्र साह,रौतहट,फाल्गुन ११, रौतहटको देवाही गोनाही नगरपालिका ६ मा विवाहका लागि मिठाई पकाउने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।बगोनाही नगरपालिका ६ कर्कट कर्मैया टोलमा आगलागी हुँदा तत्कालीन कर्कट कर्मैया गाउँ विकास समितिका पूर्वअध्यक्ष इश्वरी यादवको घर जलेर नष्ट भएको हो । पूर्वअध्यक्ष यादवकी छोरीको तीन दिनपछि हुने विवाहका लागि मिठाई बनाइरहेका बेला एककासि ग्यास सिलिन्डर लिक भएर आगलागी भएको थियो । आगलागी लगत्तै आगो निभाउन खोज्दा यादवका छोरा गुञ्जेश्वरी यादवका दुवै हात जलेका छन् । उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कटहरिमा उपचार भैरहेको छ । आगलागी सुरु भएको केही समयपछि स्थानीयवासीले बल्दै गरेको सिलिन्डर नजिकको पोखरीमा फालेका थिए । त्यसलगत्तै स्थानीवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगालागीबाट २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Facebook Comments