
काठमाडौँ । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिलाई नै पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो ।
साँझ ६ बजेदेखि बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिका विभिन्न आकांक्षीको नाममा चर्चा भए पनि अन्तिममा विद्यालाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो । बालुवाटार बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले पनि एमाले स्थायी समितिले भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको जानकारी दिए ।
भण्डारी सजिलै राष्ट्रपति
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवारले सजिलै विजयी हुने अवस्था छ । पछिल्लो समयमा अध्यक्ष ओली पार्टीमा हाबी हुँदै गएका छन् । दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राखेका थिए । उनको अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ थियो । भण्डारीले आफ्नो पक्षमा माहोल बनाउन ओली–प्रचण्डलाई शीतल निवासमै बोलाएर दिवाभोज समेत दिएकी थिइन् । एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा छलफल चलेको थियो ।
एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा थियो । राष्ट्रपतिको उम्मेदवार छान्न बसेको स्थायी समितिको बैठक अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्शसमेत गरेका थिए । यता वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको थियो । नेपाल पक्षले एकै व्यक्तिलाई दोर्होयाएर अवसर दिनु गलत हुने बताउँदै आएको थियो ।
राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ । आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ । २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ । एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ । यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।
ammarwani.com
Facebook Comments