
‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ ।
प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले उनीसँग स्पष्टीकरण लिएको छ ।
मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।
पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले अनलाइनखबरलाई बताए ।
प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ
तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको रावलले बताए ।
यसैवीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।
मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।
अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए ।
घटनामा दोषी जो भए पनि कारवाही गर्न आफूले जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि भनिसकेको रावलले बताए । उनले अनलाइनखबरसँग भने-मैले आजै पनि मेयर चौधरीसँग लामो कुराकानी गरेँ । उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रहरीले पनि मेयरले मान्छे छुटाएको कुरा अस्वीकार गरेको छ । तर, उनी विवादमा परिसकेकाले छानविन हुन्छ र दोषी भए कारवाही हुन्छ ।
जिल्ला इञ्चार्ज रावलले जघन्य घटनामा चौधरीको संलग्नता नभए पनि उनले मिडियामा दिएको प्रतिक्रिया संवेदनाहीन देखिएको बताए । यदि घटनाका बेला मेयर रमितेमात्र बनेको हो भने त्यो सैहृय नहुने भन्दै एमालेले दोषीलाई जोगाउने भूमिका नखेल्ने उनले बताए ।
आफ्नै दाजुलाई एक करोडको बोर्ड !
घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले नागरपालिकामा मनोमानी गरिरहेको स्थानीयवासी र कर्मचारीहरुको गुनासो छ । सुरुदेखि नै उनले नगरपालिकालाई आफन्त र नातागोता भर्ती गर्ने केन्द्रका रुपमा प्रयोग गर्ने गरेका छन् ।
नगरपालिकाले ०७४ पौष २६ गते गठन गरेको बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम विनियोजन गरिएको छ । उक्त बोर्डको कार्यकारी अधिकारसहितको उपाध्यक्षमा ३० हजारभन्दा बढी तलव सुविधा दिने गरी नगरप्रमुख चौधरीले आˆना सहोदर दाजु दयाराम चौधरीलाई नियुक्त गरेका छन ।
कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोडिङ स्कुलको सञ्चालक समेत रहेका मेयरका दाइ दयाराम चौधरीलाई नगरप्रमुख ममता प्रसाद चौधरीले नेपाल सरकारको राजपत्रमा प्रकाशित तृतीय श्रेणीको अधिकृतलाई दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
बोर्डमा उपाध्यक्ष नियुक्त गरिएका सहोदर दाजुको बाहेक अन्य कसैका पनि सेवा सुविधा मेयर चौधरीले हालसम्म तोकेका छैनन् । उपाध्यक्षबाहेक अन्यको सेवा सुविधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले जानकारी दिए ।
मेयरले पर्यटन प्रवद्धन गर्न गठित बोर्डमा आफ्नै दाजुलाई नियुक्त गरेपछि स्थानियबासी आक्रोसित बनेका छन् । मेयरको चलाखीमा बोर्ड गठन गरिएको र आˆनै दाजुलाइ नियुक्त गर्नु गलत रहेको घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीराम भट्टराईले बताए ।
अनलाइन खबरबाट
Facebook Comments