Loading...
मुख्यमन्त्री राउत र महासंघकी अध्यक्ष राणाबीच सहमतिपत्रमा हस्ताक्षर, युवालाई रोजगारी

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले निजी क्षेत्रसँगको सहकार्यविना प्रदेश र देशको विकास सम्भव नहुने बताएका छन् । नयाँ पत्रिका र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा मंगलबार जनकपुरमा गरेको प्रादेशिक आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्यले मात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

प्रदेश सरकारको सयदिने कार्ययोजनामा निजी क्षेत्रलाई प्राथमिकता दिएको मुख्यमन्त्री राउतको भनाइ छ । ‘तपाईंहरू प्रदेशभित्र लगानी गर्नुस् । लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार छ । संघीय सरकारबाट असहयोग भयो भने पनि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ,’उनले भने ।

उनले प्रदेशभित्र उद्योग कलकारखाना खोल्ने वातावरण बनाउन संघीय सरकारसँग छलफल गरिरहेकोसमेत बताए । ‘संघीय सरकारका उद्योगमन्त्री मातृका यादवसँग कुराकानी भएको छ । उहाँ सकारात्मक हुनुहुन्छ । त्यसकारण ढिला नगरी लगानी गर्नुस् । हामी आवश्यक सहयोग गर्न तत्पर छौँ,’ उनले भने ।

प्रदेश २ मा लगानीको पर्याप्त सम्भावना रहे पनि विगतमा राज्य उदासीन भएकै कारण विकास निर्माणमा पछि परेको उनको ठम्याइ छ । अब विकास निर्माणले गति लिने र रोजगारीको अवसर पनि सिर्जना हुने उनले बताए । ‘व्यवस्था फेरिएको छ । उद्योगधन्दा खोलेर नाफा लिनुस् । यहाँका जनतालाई रोजगारी दिनुस् । प्रदेशलाई समृद्धिको बाटोमा अगाडि बढ्न सहयोग गर्नुस्,’ राउतले भने ।

प्रदेशमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र उद्योगको व्यापक सम्भावना रहेको उनले दाबी गरे । युवाशक्तिलाई प्रदेशभित्रै रोजगारीको अवसर सिर्जना गराउने लक्ष्य सरकारले लिएकोसमेत उनले जनाए । ‘रोजगारी नपाएर युवा जनशक्ति विदेशी भूमिमा परिश्रम गर्न बाध्य छ,’ उनले भने, ‘ती युवालाई आफ्नै भूमिमा रोजगारीको अवसर सर्जना गराउनु प्रदेश सरकारको लक्ष्य हो ।’

भारतलाई धान, गहुँलगायतका खाद्यान्न बेच्ने हामी अहिले किन भारतीय चामल आयात गरिरहेका छौँ, भन्ने प्रश्नसमेत उनले गरे । खाद्यान्नमा आत्मनिर्भर बन्न, भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रदेश २ को आर्थिक बहसमा कसले के भने ?

लगानी गर्ने वातावरण बनाउनुस्ः राणा
भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रदेश २ आर्थिक समृद्धिको प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताइन । निजी क्षेत्रसँगको सहकार्यमा मात्र प्रदेशको समृद्धि सम्भव हुने उनको भनाइ छ । ‘आर्थिक समृद्धि भाषण दिएर वा नारा लगाएर आउने होइन । त्यसका आधारहरू तयार गर्नुस्, इच्छाशक्ति देखाउनुस्, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनुस्,’उनले भनिन्।

राणाले नीतिगत सुधार, व्यवसायी मैत्री कानुन, रोजगारी अभिवृद्धिका लागि औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिइन् । समृद्धिका लागि सुशासन आवश्यक रहेको उनको भनाइ छ । आगामी दिनमा कल्पना गरेझैँ विकास र समृद्धिका लागि हरेक प्रदेशका सरकारसँग सहकार्य गर्न नीजि क्षेत्र तयार रहेको उनले बताइन् । प्रदेश २ मा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको उनले बताइन् ।

कृषिलाई आधुनिकीकरण गर्ने र कृषिजन्य उद्योगहरूलाई प्रोत्साहन गरेर निर्यात गर्ने कानुनको आवश्यकता उनले औँल्याइन् । जानकी मन्दिर, जलेश्वरनाथ महादेव र गढीमाईजस्ता शक्तिपिठहरु यसै प्रदेशमा भएकाले धार्मिक पर्यटनको समेत उत्तिकै सम्भावना रहेको राणाले बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डिराज ढकालले साना, मझौला र महिला उद्यमीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । मुलुक संघीय व्यवस्थामा गएकाले जनताको अपेक्षा प्रदेश सरकारसँग धेरै रहेको उनले बताए । उनले भने, ‘जनताका अपेक्षालाई तत्काल पूरा गर्न प्रदेश सरकारले साना मझौला तथा घरेलु उद्योगमा जोड दिनुपर्छ ।’

प्रदेश २ सरकारले ल्याएको सय दिनको कार्ययोजनाको प्रशंसा गर्दै ढकालले भने, ‘प्रदेश सरकारले ल्याएको सय दिनको योजना निजी क्षेत्रका लागि उपयुक्त छ । त्यसलाई कार्यान्वयन गरियो भने यो प्रदेशमा लगानीकर्ता आकर्षित हुन्छन् ।’

सरकार र निजी क्षेत्रको साझेदारीले मात्र मुलुकमा आर्थिक समृद्धि : देवकोटा

नयाँ पत्रिकाका अध्यक्ष तथा सम्पादक कृष्णज्वाला देवकोटाले सरकार र निजी क्षेत्रको साझेदारीले मात्र मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बताए । ‘कुनै पनि देशको आर्थिक मेरुदण्ड त्यहाँको व्यापार हो,’ उनले भने, ‘अहिले हामी नयाँ व्यवस्थामा प्रवेश गरेका छौँ । यो व्यवस्थालाई सफल कार्यान्वयन गर्न प्रदेश सरकार र निजी क्षेत्रको ठूलो भूमिका हुन्छ । त्यसकारण हामी सबैले आ–आफ्नो स्थानबाट इमानदारीका साथ जुट्न आवश्यक छ ।’

सरकार र महासंघबीच सहमति
प्रदेश २ सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच प्रदेशको आर्थिक क्रियाकलापमा सहकार्य गर्ने, प्रदेश सरकारले गठन गर्ने अर्थसम्बन्धी समिति वा कार्यदलमा महासंघ प्रदेश २ लाई सामेल गराउनेलगायतका विषयमा सहमति भएको छ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र महासंघकी अध्यक्ष भवानी राणाले मंगलबार सहमतिपत्रमा हस्ताक्षर गरे ।

लगानी गर्नुस्, वातावरण सरकारले दिन्छ : लालबाबु राउत मुख्यमन्त्री, प्रदेश २

तपाईंहरू प्रदेशमा लगानी गर्नुस् । वातावरण बनाउन प्रदेश सरकार तयार छ । संघीय सरकारबाट असहयोग भयो भने पनि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ । व्यवस्था फेरिएको छ । उद्योगधन्दा खोलेर नाफा लिनुस् । यहाँका जनतालाई रोजगारी दिनुस् । प्रदेशलाई समृद्धिको बाटोमा अगाडि बढ्न सहयोग गर्नुस् । रोजगारी नपाएर युवा जनशक्ति विदेशी भूमिमा परिश्रम गर्न बाध्य छ । ती युवालाई आफ्नै भूमिमा रोजगारीको अवसर सर्जना गराउनु प्रदेश सरकारको लक्ष्य हो । निजी क्षेत्रले त्यसमा सहयोग गरोस् भन्ने हाम्रो चाहना हो ।

अन्तर्राष्ट्रिय विकास मोडल आवश्यक
चण्डीराज ढकाल, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपालको पुरानो संरचना फेरिएको छ । अब कुनै पनि पार्टीको मुलुक समृद्ध बनाउने मोडलले काम गर्दैन । अन्तर्राष्ट्रियस्तरको विकास मोडल आवश्यक छ । र, त्यहीअनुसारको काम गर्नुपर्ने खाँचो छ । प्रदेश २ सरकारले सार्वजनिक गरेको सय दिनको कार्ययोजना निश्चित रूपमा प्रशंसायोग्य छ । कार्ययोजनाअनुसार अगाडि बढे प्रदेशमा आर्थिक समृद्धि कठिन छैन । तर, प्रदेश सरकारले साना, मझौला र घरेलु उद्योगका साथै महिला उद्यमीलाई विशेष सुविधा दिनुपर्छ ।

कृषि, उद्योग र पर्यटमा जोड दिनुपर्छ
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
प्रदेश समृद्धिका लागि उद्योग, कृषि र पर्यटनमा जोड दिनुपर्छ । प्रदेशभित्र लगानीको वातावरण बनाउन सकिएन भने लगानीकर्ता आउँदैनन् । त्यसकारण लगानीको वातावरण बनाई यस प्रदेशलाई मुलुकको आर्थिक केन्द्रबिन्दु बनाउन सकिन्छ ।

मठमन्दिर तथा पर्यटकीय क्षेत्रलाई विकास र विस्तार गर्नु यस प्रदेशको आवश्यकता छ । सेवा क्षेत्र, उद्योग, शिक्षा, स्वास्थ्यमा पनि धेरै सम्भावना छ । यी क्षेत्रमा लगानी गरिएको खण्डमा निश्चित रूपमा आर्थिक समृद्धि सम्भव छ । लगानीकर्ता नाफा खोज्छन् । विश्वका कुनै पनि मुलुकका लगानीकर्ताले नाफा खोज्नु स्वाभाविक हो । व्यापारीलाई नाफा भएन भने सरकारलाई कर कसरी तिर्न सक्छन् ?

मन्दिरको भेटीबाट मात्र प्रदेश चल्दैन
रामसरोज यादव, कांग्रेस संसदीय दलका नेता, प्रदेश २
प्रदेश २ जानकी मन्दिरको भेटीबाट चल्दैन । प्रदेशलाई आर्थिक समृद्धिका लागि उद्योग कलकारखाना आवश्यक पर्छ । यहाँ कृषि, पर्यटन, शिक्षाको अपार सम्भावना छ । यी क्षेत्रमा लगानी गर्नुपर्छ । उद्योग कलकारखाना सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ यहाँका कृषि क्षेत्रबाट सहज रूपमा उपलब्ध हुनसक्छ । यहाँ कृषकको जग्गा व्यवस्थापन नहुँदा पनि समस्या छ ।

परम्परागत सोचबाट विकास हुँदैन
रामचन्द्र मण्डल, माओवादी संसदीय दलका नेता, प्रदेश २
प्रदेशको विकासका लागि डिपिआरको आवश्यकता छ । डिपिआरको अभावमा विकास सम्भव छैन । परम्परागत सोचले मुलुकको विकास वर्तमान समयमा सम्भव छैन । नेपाललाई आर्थिक विकासको बाधक यहाँका अर्थविद् पनि छन् । उनीहरूले तयार पार्ने डिपिआरले जनतालाई सेवासुविधा दिनुको सट्टा उल्टै दुख र हैरान दिन्छन् । त्यसकारण आर्थिक समृद्धिका लागि सार्थक कार्यको आवश्यकता छ ।

प्रदेश २ ले देश पाल्न सक्छ
शिवशंकर साह हिरा, अध्यक्ष, उद्योग वाणिज्य महासंघ प्रदेश २
यस प्रदेशमा कृषिको अपार सम्भावना छ । यहाँको उत्पादनले प्रदेशलाई मात्र नभई सिंगो देशलाई नै पाल्न सक्ने क्षमता राख्छ । पर्यटनको पनि सम्भावना उत्तिकै छ । यहाँका जानकी मन्दिर, महोत्तरीको रौजा मजार, बाराको गढीमाईलगायतका धार्मिक पर्यटकीय स्थलहरूलाई विकास गरियो भने लाखौँ पर्यटक भिœयाउन सकिन्छ । जनकपुर हिन्दुहरूका लागि मात्र नभई मुस्लिम, बौद्ध, जैन, सिखलगायतका लागि पनि महŒवपूर्ण स्थान हो । यो प्रदेशमा करिब सयभन्दा बढी जातका आँपहरू पाइन्छन् । ती आँपको जुस बनाएर बेच्न सकियो भने आर्थिक समृद्धिमा धेरै टेवा पुग्छ । गोलभेँडा खेती पनि राम्रो हुन्छ । गोलभँडाको सस बनाएर बेच्न सक्छौँ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि यस प्रदेशलाई विकास गर्न सकिन्छ ।

सुरक्षाको जिम्मा लिनुपर्छ
डा. भोगेन्द्र झा, अर्थविद्
आर्थिक समृद्धि भनेर मात्रै आउने विषय होइन । यसका लागि रूपान्तणको आवश्यकता छ । देशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्ने नीति राज्यले लिनुपर्छ । लगानीकर्ताको सुरक्षाको जिम्मा लिनुपर्छ । बिप्पा सम्झौता भारतसँग मात्र होइन, अन्य मुलुकहरूसँग पनि गर्नुपर्छ । विदेशी लगानीकर्ताको विरोध गरेर मुलुकको समृद्धि सम्भव छैन ।

दीर्घकालीन योजना आवश्यक
इन्दु शर्मा मिश्र, अर्थविद्
प्रदेश २ ले सम्भावना बोकेको छ । तर, प्रदेशको समृद्धि इच्छाशक्तिले मात्र हुन्छ । इच्छाशक्तिका साथ प्रदेश सरकार अगाडि बढे निश्चत रूपमा विकास सम्भव छ । विकासको अल्पकालीन र दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढ्नुपर्छ । अध्ययनविनै अगाडि बढ्नु नै हाम्रो दुर्भाग्य हो । सरकारले कुनै क्षेत्रमा लगानी गर्दा त्यो विषयमा अध्ययन वा जानकारको सहयोग लिनु आवश्यक छ । नयाँ पत्रिकाबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *