Loading...
मुख्यमन्त्री लालबाबुद्वारा बालिकाको अभिभावकत्व ग्रहण, बिशेष प्याकेज आउदै

जनकपुरधाम, बैशाख ११ । मुख्यमन्त्री लालबाबु राउतले आज एक बालिकाको अभिभावकत्व ग्रहण गर्नु भएको छ । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत मिथिला आधारभूत विद्यालय कचुरीले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले मिथिला विहारी नगरपालिका वडा नं. ८ की लक्ष्मीनियाँ कुमारी दासको अभिभावकत्व ग्रहण गर्नु भएको हो ।
वडा अध्यक्ष जिवछ यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्री राउतका अतिरिक्त प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले श्रवण कुमार मल्लिक, मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले प्रिति कुमारी महरा र उपमेयर अनिता साहले अम्विका मल्लिकको अभिभावकत्व ग्रहण गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको विशेष योजना बेटी पढाउ, बेटी बचाउ अभियानमा सहयोग गर्न सबै पक्ष संग अपील गर्नु भएको हो । उहाँले छोरालाई शिक्षित बनाइए एक जना मात्र शिक्षित हुने तर छोरीलाई शिक्षित बनाइए पुरै परिवार शिक्षित हुने भएकालाई छोरी शिक्षालाई विषेश प्राथमिकतामा प्रदेश सरकारले राखेको उल्लेख गर्नु भयो । उहाँले अशिक्षाकै कारण समाजमा हिंसा लगायतका कुरितिहरु व्याप्त रहेकाले त्यसलाई अन्त गर्न समेत शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । मुख्यमन्त्री राउतले दलित बालिकाहरुको लागि सरकारले शिक्षा विमा योजना, दिवा खाजा योजना सहितमा गृह कार्य गरि रहेको समेत बताउनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले शिक्षा नै विकासको मुख्य आधार रहेकाले त्यसका लागि प्रदेश सरकार विशेष पहल गरि रहेको बताउनु भयो । उहाँले बालाबालिकालाई शिक्षित बनाउने काममा अभिभावक , विद्यालय र समाजलाई समेत उतिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मिथिला विहारी नगरपालिकाको मेयर अनिल कुमार यादवले बालिकाहरुको लागि नगरपालिकाले समेत विशेष प्याकेज ल्याएको बताउनु भयो । उहाँले छोरी जन्मेको ३५ दिन भित्र जन्म दर्ता गराउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैया प्रदान गरिनुका साथै विद्यालय जाने प्रत्येक बालिकालाई साईकल उपलब्ध गराउने घोषणा समेत गर्नु भयो । उहाँले प्रदेश सरकारले घोषणा गरेको बेटी पढाउ बेटी बचाउ अभियानलाई सफल बनाउन काँधमा काँध मिलाएर अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *