Loading...
पहिचान पक्षधर कार्यकर्ताहरूलाई ‘माउ बिनाका चल्ला’ जस्तै अलपत्र पारियो – सहअध्यक्ष श्रेष्ठ
ललितपुर, २०७५ श्रावण ८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल सिन्धुपाल्चोक जिल्ला समितिको आयोजनामा आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको पार्टी प्रवेश कार्यक्रममा सिन्धुपाल्चोक, धादिङ र रसुवा जिल्लाका लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरू ठूलो सङ्ख्यामा पार्टी प्रवेश गरेका छन् ।
जिल्ला अध्यक्ष सन्तवीर दोङ तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका सहअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र प्रसाद श्रेष्ठले एउटै सिद्धान्त बोकेका पार्टीहरू ढीलो चाँडो एउटै पार्टीमा ध्रुवीकृत हुने बताए । उनले जनताको वहुदलीय जनवादलाई नै सिद्धान्त मानेकाले विगतमा माले एमाले एकीकरण भएको उदाहरण दिंदै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले नेपाली काङ्ग्रेसको सिको गरेर लोकतान्त्रिक समाजवादलाई सिद्धान्तको रूपमा अङ्गिकार गरेकाले पहिचान पक्षधर कार्यकर्ताहरूलाई ‘माउ बिनाका चल्ला’ जस्तै अलपत्र पारी नेपाली काङ्ग्रेसमा एकीकृत भएको बताए ।
नेता श्रेष्ठले आफ्नो पार्टीले अगाडी सारेको नेपाली क्रान्तिको सिद्धान्त सङ्घीय समाजवाद विश्व समाजवादी आन्दोलनको नयाँ विचारधारा भएको भन्दै काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद र कम्युनिष्टको समाजवादउन्मुख जनताको जनवादभन्दा हाम्रो जस्तो बहुराष्ट्रिय देशका लागि उपयुक्त भएको बताए । उनले ससफो नेपाल समाजवादीहको मात्र नभई सच्चा सङ्घवादीहरूको पनि बैचारिक केन्द्र भएको बताउँदै यस पार्टीले उत्पीडित राष्ट्रियताहरूलाई मुक्ति दिने बताए । नेपालमा सत्तारुढ वर्गले पहिचानसहितको सङ्घीयता भनेको एकल जातीय राज्यको निर्माण हो भन्ने भ्रम फैलाइरहेकोमा आक्रोश पोख्दै उनले पहिचानको आन्दोलन साम्प्रदायिक नभई साझा शासन र सहअस्तित्वको आन्दोलन भएको र यसले साँचो अर्थमा नेपाललाई जातीय जनसङख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भएको सङ्घीय राज्यमा रूपान्तरण गर्ने बताए ।
नेपाल कम्युष्टि पार्टी (नेकपा)ले आफ्नो घोषणापत्रमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण नगर्ने कुरा प्रष्टका साथ उल्लेख गर्नु सकारात्मक रहेको भन्दै सांसद श्रेष्ठले भने– “तर अहिले नेकपाका नेताहरूले द्वैध चरित्र देखाएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गर्नेहरू सच्चा कम्युनिष्ट हुन सक्दैनन् ।” उनले नेकपाले एकपछि अर्को गल्ती गरिरहेको औल्याउँदै भने– “महाभारतमा शिशुपालको उनान्सय गल्तीसम्म कृष्णले माफी गरे पनि सयवटा गल्ती गरेपछि मृत्युवरण गर्नु प¥यो । नेकपाले पनि एकपछि अर्को गल्ती गर्दै गए दुईतिहाईको सरकार पनि ढल्न सक्छ । शत प्रतिशतको निकट रहेको सरकार पनि ढलेको विश्वमा उदाहरणहरू छन् ।”
लोकतान्त्रिक फोरम सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जि.वि. वज्र लामा, उपाध्यक्ष रेकपा दोङ, सचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष समी दोङ सहित सिङ्गै जिल्ला समिति, रसुवाका दावाफिन्जो तामाङ, धादिङका रेशम रानामगर लगायत ८५ जना नेता कार्यकर्ताहरू ससफोमा प्रवेश गरेको उक्त कार्यक्रममा पार्टी उपाध्यक्ष रकम चेमजोङले पहिचानको आन्दोलनलाई नेकपाले धोका दिएको भन्दै पहिचान सहितको सङ्घीयताको जननी आफ्नो पार्टी भएको बताए । उनले लिम्बुवान, किरात, शेर्पा, नेवाः, ताम्सालिङ लगायत १०+१ प्रदेशहरूका लागि लड्ने सङ्कल्प गरेको एक मात्र पार्टी ससफो भएको बताए ।
पार्टीका बैकल्पीक केन्द्रीय सदस्य सन्तोष सिलवालले सञ्चालन र ताम्सालिङ प्रदेशका उपाध्यक्ष विद्युत बज्राचार्यले स्वागत गरेको उक्त कार्यक्रममा पार्टीका ३ नम्बर प्रदेशका इन्चार्ज आङदेण्दी शेर्पा, सङ्घीय मामला विभाग प्रमुख गणेश योञ्जन र नवप्रवेशीको तर्फबाट लोकतान्त्रिक फोरम सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जि.वि. वज्र लामाले पनि मन्तव्य दिएका थिए । कार्यक्रममा ३ नम्बर प्रदेशका सहइन्चार्ज कृष्णवहादुर घःजु, नेवाः प्रदेशका सहइन्चार्ज लालवहादुर तामाङ र अध्यक्ष न्हुच्छेलाल महर्जन तथा केन्द्रीय कार्यालयका उपसचिव रमेशचन्द्र प्रधानको पनि उपस्थिति रहेको थियो । नव प्रवेशी नेता कार्यकर्ताहरूलाई पार्टीका सह अध्यक्ष माननीय राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष रकम चेमजोङ, ३ नम्वर प्रदेश इन्चार्ज आङदेण्दी शेर्पा, डा गणेश योन्जन लगायतका केन्द्रीय नेताहरूले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *