
जित नारायण मुखिया
महोत्तरी/भादौ ६
महोत्तरीको लोहरपट्टी नगरपालिका ३ मा नमाज पढ्न मस्जिदमा भेला भएका दुई समूहबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।
लोहारपट्टी -३ महदैया चोकको इदगाहा मस्जिदमा दुई समूहबीच विहान ८ बजे झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस र राजपा दुई पक्षधरहरुले नवाज पढ्ने क्रममा मौलवीलाई पहिले आफ्नो पक्षको नवाज पढाउनुपर्ने भनेपछि झडप भएको स्थानीयले बताएका छन् ।
परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर नै गरेको थियो । झडपको खबर पाएलगत्तै कनै अप्रिय घटना हुन नदिन रामगोपालपुर, लोहारपटटी र जिल्लाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले दुबै पक्षबाट दुई दुई जना झडपका जिम्मेवार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नमाज वाचन गर्न दुई पक्षले आ-आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
घाइते हुनेहरुमा कांग्रेस पक्ष भनिएका अहमद राईन, सलामत राईन, आफताव राईन र हसिन राईन रहेका छन् । राजपा पक्षका लालु कवारी, अख्तर राईन, मन्सुर राईन र मोसलिम राईन पनि घाइते भएका छन् ।
बकरईदको नवाज पढाउन हरेक वर्ष भारतबाट तिनजना मौलवी आउने गरेकोमा यस वर्ष एकजना मात्र मौलवी आएकाले विवाद भएको स्थानीयको भनाइ छ ।
मंगलबारमात्र गाउँमै दुई पक्षबीच छलफल भएको र विहान मिलिजुली नवाज पढ्ने सहमति भएको थियो । उक्त स्थानमा एक पुरानो र एक नयाँ गरी दुई इदगाह रहेको छ । घाइतेहरुको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
झडपको स्थिति नियन्त्रणमा आएको र विवाद समाधानको लागि छलफल भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अहिले दुई पक्षलाई छलफलमा राखेर विवाद मिलाउने प्रयास भइरहेको जनाएको छ ।
Facebook Comments