
विभिन्न पार्टी परित्याग गरी आज बाँकेमा करिब ४ सय २० जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालका रास्ट्रीय अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र फोरमका सचिव एवम् सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्जको परसपुरमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीमा टिका लगाउदै प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने अधिकांश नेकपा का कार्यकर्ता भएको एक नेताले बताएका छन् ।
प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार समेत रहेका विजयकुमार पठकसहित करिब ४ सय २० जनालाई अध्यक्ष यादव र सचिव राईले अबिर लगाएर फोरम नेपालमा स्वागत गरेका थिए । नेकपा, नेपाली कांग्रेस, राप्रपा लगायतका पार्टीका स्थानीय नेता–कार्यकर्ताहरु पार्टी प्रवेश गरेको फोरम बाँकेका प्रवक्ता समसुल हक राईले जानकारी दिनुभएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारमा रहेर मधेशी समुदायलाई अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले नागरिकताको समस्या समाधानोन्मुख रहेको बताउँदै मधेशी समुदायलाई समानताको हक दिलाएरै छाड्ने अठोट व्यक्त गरेका थिए ।
त्यस्तै फोरमका सचिव राईले सवै जनतालाई समानताको हक दिलाउने वैकल्पिक पार्टी फोरम नै भएको दाबी गर्नु भयो । नेपाली कांग्रेस र राप्रपालाई जनताले मुल्यांकन गरेर ठेगान लगाईसकेको बताएका राईले नेकपाको विकल्प फोरम भएको बताए । उनले तराई, पहाड हिमालमा फोरम स्थापित भईसकेको बताउँदै आफ्नो पार्टी अन्य दलहरुभन्दा समावेशी भएको दाबी पनि गरेका थिए ।
Facebook Comments